जताततै नक्सलबारी

तुहिएको सपनाको कुनै गन्ध हुन्छ कि हुँदैन ? धेरैले सपाट उत्तर दिनेछन्, सपनाको कुनै गन्ध हुँदैन । कसैलाई लाग्न सक्छ यो प्रश्न आफैंमा सिजोपनिक छ ।

आक्रोशले उमालेको कफी

कम्तीमा ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा किताब र कफीलाई दिने सुबिस्ता सबैलाई पुगोस् भन्नका लागि मसँग नेपाली र अंग्रेजी दुईटा भाषा छन् । शासकहरूसँग कति नाले बन्दुक छन् ?

Showing posts with label Political Commentaries. Show all posts
Showing posts with label Political Commentaries. Show all posts

Friday, February 9, 2018

डा केसी अभियानलाई सामाजिक आन्दोलन बनाऔँ

उज्ज्वल प्रसाईं

राजनीतिमा आदर्श र निष्ठाको गुन्जायस रहेन । समुन्नत र समतामूलक समाजको उदात्त परिकल्पनालाई हरसम्भव असान्दर्भिक तुल्याउने हरकतलाई नै राजनीति भन्न थालियो । तन्नेरी बेलामा राजनीति सुरु गरेका अहिलेका धेरै नेताहरूले हिजो शिरमा आदर्शका ठूला पगरी गुथेका थिए । शक्ति र सत्ताको अभ्यास गर्न थालेसँगै एक–एक गर्दै हिजोका आदर्श र त्यसबेला तय गरेका सुन्दर गन्तव्य बिर्सनमा आनन्द मान्न थाले । परिणाम, एक निष्ठावान् शिक्षकलाई अनशन बसेकै ठाउँमा मृत्युको मुखमा धकेलिँदैछ । स्वास्थ्य शिक्षाको क्षेत्रमा चलिरहेको रकमी विकृति हटाउन प्राडा गोविन्द केसीले राखेका माग व्यवस्था बदल्ने माग होइन कि उनको सुनुवाइ नहोस् । तर, नाफाखोर माफियाहरूले
कठालो समातेका आदर्शविहीन पात्रहरूका लागि उनका सामान्य माग पनि घाँडो भएका छन् ।

राजनीतिमा इमानदारी, आदर्श, निष्ठा र गम्भीरता सकिएपछि डा केसीजस्ता सज्जनका आवाज सुन्न अप्ठ्यारो हुन्छ । मौजुदा राजनीतिक नेतृत्वलाई उनले गरिरहेका काम बिलकुल असान्दर्भिक र फजुल लागिरहेको छ ।

केही सकस त उनीहरूलाई पक्कै भएको होला तर त्यसले उनीहरू उभिएको बेइमानी र थेत्तरो संस्कारको धरातलमा सानो भूकम्प पनि ल्याउन सकेको छैन । नत्र, नेपालको असाध्यै माया भएका र आफूलाई एक नम्बरको राष्ट्रवादी नेता ठान्ने खड्गप्रसाद ओलीले ‘ आत्महत्या गर्न नसकेका मान्छे शिक्षक हुन्छन्’ जस्तो क्षुद्र अभिव्यक्ति दिने थिएनन् । उनको यो क्षुद्रतापूर्ण लफ्फाजी व्यक्तिगत समस्या होइन, राजनीतिमा आएको स्खलनको स्पष्ट अभिव्यक्ति हो । जब पुग्नुपर्ने गन्तव्य धूमिल छ, जब निष्ठाको कुनै अर्थ रहँदैन र राजनीतिक आदर्शप्रति पूर्णतया बेवास्ता गरिन्छ, त्यसपछि रहने भनेको शक्तिको दोहन गरेर आफ्नो र आफ्ना वरपरका झुन्डको संकीर्ण स्वार्थको परिपूर्ति मात्रै हो । खड्गप्रसादहरूले आफ्नो उपादेयता त्यतिमा सीमित गरेका छन् । ५० नागरिकको ज्यान जाने गरी भएको आन्दोलनलाई सजिलै लत्याउने सामथ्र्य देखाइसकेका उनीजस्ता नेतालाई एक्ला डा केसीको प्रयत्नले कतै नछुनु अनौठो होइन । उनीहरूबाट यसभन्दा बढी अपेक्षा गर्नु भूल हो ।

त्रिभुवन विश्वविद्यालयको चिकित्सा स्वास्थ्य अध्ययन संस्थान र त्यसले सरोकार राख्ने क्षेत्रमा मात्रै नाफाखोर माफियाहरूको हाली–मुहाली भएको होइन । विद्यालय शिक्षाको अवस्थालाई मसिनोसँग नियाल्यो भने अवस्था खासै फरक छैन । त्यसपछि अन्य विषयका उच्च शिक्षा र डिग्री बेच्न खोलिएका हजारौँ शिक्षाका पसलमा नजर पुर्‍याउन सक्यो भने त्यहाँको अवस्था उस्तै दर्दनाक देखिन्छ । शिक्षा र स्वास्थ्यको निर्वाध निजीकरणले पुँजी भएका मुठ्ठीभर मान्छेलाई बाहेक अरू कसैलाई फाइदा छैन ।

यी दुई सेवा क्षेत्रलाई बजारको जिम्मा लगाएपछि नेपाली समाज कस्तो भयो ? राम्ररी नियालेर हेर्‍यो भने पहिलेभन्दा अहिले धनी र गरिबबीचको खाडल बढ्दै गएको छ । धनी बाबुआमाका सन्तान र गरिब अभिभावकका छोराछोरीबीच पहिले संवाद हुन्थ्यो, त्यस्ता नानीहरू एकअर्काका साथी हुन्थे र सँगै खेल्थे । अहिले यी दुई वर्गका बच्चाबच्ची एकअर्काका साथी हुन सक्दैनन् । किनभने, उनीहरूले सबैभन्दा बढी समय बिताउने विद्यालय नै अलग छ र तिनका बीचमा ठूलो दूरी छ ।

हैसियत अनुसारका विद्यालय

निकै धनाढ्यहरूले मात्रै सहरका राम्रा भनिएका विद्यालयमा आफ्ना सन्तान पठाउने हिम्मत गर्छन् । मध्यम वर्ग उति ठूलो छैन, तिनले पनि अनेक दु:ख गरेर महँगा विद्यालय नै छान्ने गरेका छन् । सहरमा उल्लेख्य संख्यामा भएका निम्नमध्यम वर्गले सरकारी विद्यालयमा आफ्ना सन्तानलाई पठाउन सक्दैनन् । उनीहरू मझौला निजी शिक्षा प्रतिष्ठानहरू खोजेर सन्तानलाई शिक्षित तुल्याउने ध्याउन्नमा हुन्छन् । पैसा त यहाँ पनि उत्तिकै खर्च हुन्छ तर विद्यालयमा हुनुपर्ने सामान्य पूर्वाधारसमेत हुँदैन । ती विद्यालयहरूले दिएको शिक्षाको गुणस्तर राम्रो हुँदैन । सानो सहरको त्यस्तै मझौलो स्तरको विद्यालयमा अध्ययन गरेको यो पंक्तिकार त्यहाँ पाइने शिक्षाको स्तरबारे राम्रो जानकार छ ।

त्यसपछि तल्लो वर्गले आफ्ना सन्तानलाई धेरैजसो अत्यन्त निम्न स्तरका निजी विद्यालय वा सरकारी विद्यालयमा पठाउने हुन् । थोरैतिनो आम्दानीको लोभले सानो लगानीमा खुलेका निजी विद्यालयले राम्रा शिक्षक र उचित पूर्वाधार पुर्‍याउन सक्दैनन् । उनीहरूले आफ्ना ग्राहक अभिभावकबाट पनि धेरै पैसा असुल्न सक्ने अवस्था हुँदैन । त्यसैले त्यस्ता विद्यालयबाट गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु मनासिब हुन्न । टाइ झुन्ड्याएर विद्यालय गइरहेका आफ्ना सन्तानलाई हेरेर खुसी हुने मौका दिनुभन्दा बढी ती विद्यालयले केही गर्न सक्दैनन् ।

सरकारी विद्यालयको अवस्था त यहाँ व्याख्या गरिरहन जरुरी नै छैन । सरकारी विद्यालय मूलत: धनाढ्य र मध्यम वर्गीय परिवारमा काम गर्ने, मजदुरी गर्ने र अत्यन्त थोरै आयस्रोत भएकाहरूले आफ्ना सन्तान पठाउने ठाउँ हो । वर्गीय, क्षेत्रीय र जातीय रूपमा सीमान्तकृत र नेपाली समाजको सबभन्दा पिँधमा रहेका मान्छेले उपभोग गरिरहेको यो सरकारी सेवाको गुणस्तर विकास गर्नु कसैको प्राथमिकता होइन । यद्यपि, यसमा केही अपवाद नभएका भने होइनन् ।

चारथरी नागरिक

उल्लिखित चारथरी विद्यालयमा पढ्ने विद्यार्थीहरू भनेका चारथरी नागरिक हुन् । सहरका सबैभन्दा महँगा र सुविधाजनक विद्यालयमा पढेर त्यस्तै ठाउँमा उच्च शिक्षा लिएकाहरूसँग सरकारी विद्यालय पढ्ने वा तल्लो स्तरको निजी विद्यालय गएका नागरिकहरूबीच ठूलो खाडल हुन्छ । उनीहरूले एकअर्काबीच न्यानो सम्बन्ध स्थापित गर्न सक्दैनन् र उनीहरूबीच कुनै संवाद पनि हुन सक्दैन ।

मौजुदा स्रोतमा यी दुईथरीको पहुँच आकाश–पाताल फरक हुन्छ । बीचका र मझौला विद्यालय गएर आफूलाई ठूलो दु:खले सक्षम बनाएकाहरूले यो समाजको ‘क्रिम लेयर’ अर्थात् माथिल्लो वर्गका मानिसहरूसँग चर्को प्रतिस्पर्धामा उत्रिनुपर्छ । यो रकमी युगमा हुने यस्ता प्रतिस्पर्धाहरू प्राय: निष्पक्ष र निष्कपट हुँदैनन् । र, त्यहाँ हुने रकमी खेलमा मध्यम र निम्नमध्यम वर्गका मानिसहरूले जित्ने सम्भावना कम हुन्छ । त्यसैले आफ्नो रुचिको क्षेत्रमा मन लगाएर अघि बढ्न यो वर्गका नागरिकलाई हम्मे पर्छ ।

निम्नमध्यम वर्गका उच्च शिक्षा हासिल गर्न तयार विद्यार्थीहरू लेखक वा समाज वैज्ञानिक बन्ने रहर मनमा दबाएर मेडिकल डाक्टर बनेर टन्न पैसा कमाउने धन्दामा लाग्नुपर्ने बाध्यतामा छन् । किनभने, अभिभावकहरू आफूले शिक्षामा लगानी गरेपछि राम्रो फसल उठाउन आफ्ना सन्तानलाई धेरै सम्पत्ति आर्जन हुने क्षेत्रमा पठाउन चाहन्छन् । दु:ख गरेर पढाएका अभिभावकका चाहनाबाट वशीभूत भएर त्यस्ता बाध्यतामा फसेका हुन्छन्, धेरै विद्यार्थीहरू ।

सित्तँैमा पढ्न पाइने सरकारी कोटामा नअटेपछि उनीहरू हातमा ५० लाख रुपियाँको थैलो बोकेर निजी मेडिकल कलेज धाइरहेका दृश्य सामान्य भइसकेका छन् । मध्यम र निम्नमध्यम वर्गका नागरिकले अनेक गरेर कमाएको जेथो हत्याउने उद्देश्यले नै जथाभावी मेडिकल कलेजहरू खुल्न थालेका हुन् ।

विदेशी विश्वविद्यालयका साइनबोर्ड झुन्ड्याइएका एमबीएजस्ता झिल्के कोर्स पढाउने कलेजहरू पनि त्यही वर्गको पैसा धुत्ने उद्देश्यले सहरका गल्ली–गल्लीमा मौलाएका हुन् । यस्ता शैक्षिक प्रतिष्ठान ज्ञान उत्पादन वा सीप विकासभन्दा पनि डिग्री बेच्नमा बढी ध्यान केन्द्रित गरिरहेका छन् । यस्ता संस्थाले उत्पादन गर्ने स्वास्थ्यकर्मी र व्यवस्थापकहरूले न गुणस्तरीय सेवा दिन सक्छन्, न त उनीहरू राम्रा शिक्षक नै बन्न सक्छन् । अन्तत: उही गोलचक्करमा फसेर उनीहरू पनि नाफाखोर उद्यम चलाउने ठग व्यापारी नै बन्न पुग्छन् ।

कचल्टिएको बजार व्यवस्था कायम राख्ने जिम्मेवारी पाएको राजनीतिक नेतृत्व समाजलाई यसभन्दा फरक अवस्थामा पुर्‍याउने चिन्तामा छैन । त्यसैले उनीहरू मनलाग्दी सम्बन्धन बाँड्न चाहन्छन् । पैसाको बिटो बोकेर आउने ठगहरूले पूर्वाधार नपुर्‍याइ खोलेका भए पनि त्यस्ता शिक्षण अस्पताललाई अनुमति दिन उद्यत छन् । यस्ता कुत्सित कर्म गर्न सहज हुने गरी ऐन बनाउन पनि लागिपरेका हुन् ।

अब बृहत् सामाजिक आन्दोलन

अहिले डा केसीले चलाइरहेको अभियानले बृहत् स्वरूप लिन जरुरी छ । त्रिविका केही सामान्य नियम हेरफेर गर्नेमा सीमित गर्नुभन्दा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका अचाक्ली निजीकरणले कस्ता समस्या निम्त्यायो भन्नेबारे गम्भीर बहस गर्ने यो उचित मौका हो । हुन त तत्काललाई डा केसीको ज्यान जोगाउनु नै मुख्य चुनौती भएको छ । तर, फेरि काम चलाऊ हेरफेर गर्ने आश्वासनमा यो आन्दोलनलाई टुंग्याउनुभन्दा बृहत् बहसको सुरुआत गर्नु उचित हुन्छ ।

साथै, डा केसीले फेरि कहिल्यै अनशन बसिदेलान् भनेर बाटो हेरेर बस्ने र उनले अनशन सुरु गरेपछि भयंकर क्रान्तिकारी देखिने उद्यममा लाग्नु अर्थहीन हुन्छ । उनले सुरु गरेको यो बहस र अभियानलाई बृहत्तर स्वरूप दिएर सिंगो शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक आन्दोलन हुर्काउन जरुरी छ । यसलाई समाजसँग जोड्नका लागि पनि बृहत् आन्दोलनका रूपमा अघि बढाउनुपर्छ । त्यसो गर्न नसक्दा जतिपटक अनशन गरे पनि समस्या जहाँको तहीँ हुनेछ । केही परिवर्तन गर्नै खोजे भने पनि त्यसले शिक्षा र स्वास्थ्यमा भएका तमाम विकृति हट्ने छैनन् ।

मूलत: राज्य आफूले बहन गर्नुपर्ने जिम्मेवारीबाट पन्छिँदै जाने र बजारको प्रभावहीन व्यवस्थापक मात्रै बन्ने हो भने डा केसीको अभियान कहिल्यै फलीभूत हुँदैन । राज्यलाई बढीभन्दा बढी जिम्मेवार बनाउने हो भने राजनीतिक नेतृत्वलाई निष्ठा र आदर्श सम्झाउनुपर्छ । डा केसीको एक्लो अभियानले मात्रै यो सम्भव छैन । त्यसैले केसी अभियान बलियो र बृहत्तर सामाजिक आन्दोलन बन्न ढिलो भइसकेको छ ।

प्रकाशित: श्रावण २९, २०७४

नेपाल साप्ताहिकमा प्रकाशित

असहिष्णुताको बाटोमा जेएनयू

उज्ज्वल प्रसाईं

इतिहासमा भारत–पाकिस्तानबीचको कार्गिल युद्ध महत्त्वपूर्ण घटना हो । भारतमा ‘अपरेसन विजय’ भनेर चिनिने सन् १९९९ मा कश्मीरको कार्गिलमा लडिएको त्यो युद्धबारे बहसहरू अद्यापि चलिरहेका छन् । भारत र पाकिस्तान दुवैका लागि सामरिक बहसमा यो विषय बारम्बार उठिरहने महत्त्वपूर्ण विषय हो । भारतीय सेनामा काम गर्ने नेपाली जवानहरूको पनि ज्यान गएकाले हामीले पनि सम्झिने घटना हो, कार्गिल युद्ध । विश्वविद्यालयमा समेत यो र यस्ता अनेक विषयमा बहस र छलफल हुनु स्वाभाविक हो । खास गरी राजनीतिशास्त्र र सुरक्षासम्बन्धी सैद्धान्तिक र व्यावहारिक अध्ययन–अध्यापनका लागि यस्ता विषय उदाहरणका रूपमा बहसमा ल्याउनु अनौठो होइन । तर, यस्ता युद्धलाई राष्ट्रवादी उन्मादका रूपमा तामझामसहित कुनै विश्वविद्यालयमा विजय दिवसका रूपमा मनाउन थालिन्छ भने त्यो गम्भीर विषय हुन पुग्छ ।

केही दिन पहिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा ‘विद्या वीरता अभियान : कार्गिल विजय दिवस’का नाममा एउटा उत्सव मनाइयो । यो उत्सव विद्यार्थीको स्वस्फूर्त पहलमा मनाइएको थिएन । बरू, विश्वविद्यालयका उपकुलपतिको ठाडो निर्देशनमा मनाइएको थियो । खास गरी हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र भारतीय जनता पार्टी (भाजपा)को विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)को सक्रिय संलग्नतामा यो उत्सव मनाइएको थियो ।

विश्वविद्यालयको प्रशासनले नेतृत्व गरेको त्यो कार्यक्रममा कार्गिल युद्ध, त्यसको उपादेयता, त्यसले भारतीय र पाकिस्तानी समाजमा पारेको दूरगामी प्रभाव, त्यस्ता युद्धले प्रभाव पार्ने दुई देशबीचको सम्बन्धबारे बहस वा छलफल केही भएन । न त्यो कार्यक्रममा कुनै राजनीतिशास्त्री वा सुरक्षाविज्ञले विद्यार्थीहरूसँग युद्धको तरिकाबारे कुनै अन्तक्र्रिया नै गरे । कार्यक्रममा सैनिक ब्यान्डका केही सांस्कृतिक प्रस्तुतिहरूसहित भारतीय सैनिकले देखाएको बहादुरीको उच्च प्रशंसा गरियो । कार्यक्रमको नाम अनुसार त्यस युद्धमा भारतले हासिल गरेको जितको ठूला खुसीयाली मनाइयो । भूतपूर्व सैनिक अधिकारी र युद्धमा शहादत प्राप्त गरेका सैनिकका परिवारको उपस्थितिमा २ हजार २ सय फिट लामो भारतको राष्ट्रिय झन्डा फहराएर राष्ट्रवादी झाँकी प्रदर्शन गरिएको थियो । अर्थात्, भारतीय राष्ट्रवादको प्रवद्र्धनका निम्ति बहादुरी र वीरताको पौरुषीय घमन्ड प्रदर्शन जरुरी छ भनेर त्यस्तो दिवस मनाइएको थियो ।

कार्गिल विजय दिवसलाई सम्बोधन गर्दै जेएनयूका वर्तमान उपकुलपति एम जगदेश कुमारले सरकारसँग विश्वविद्यालयमा सैनिक तोप खडा गरिदिन आग्रह गरे । विद्यार्थीका लागि प्रदर्शनमा राखिने त्यस्तो तोप भारतको वीरता सम्झाउने प्रतीक हुने उनले जिकिर गरे । त्यस्तो सैनिक तोप खडा नगरिएका कारण जेएनयूका विद्यार्थीमा राष्ट्रवादी भावना कमजोर भएको उनको अव्यक्त आशय बुझ्न कठिन थिएन । भारतको बौद्धिक सान बनेको जेएनयूमा जवाहरलाल नेहरुको अग्लो र सुन्दर सालिक छ । नेहरु–पुत्री इन्दिरा गान्धीको अग्रसरतामा स्थापना गरिएको यो अग्रणी शैक्षिक र अनुसन्धान संस्थामा उनै विद्वान् नेता नेहरुको शिक्षा र प्रगतिशीलताप्रति सम्मान प्रकट गर्न उनको सालिक ठड्याइएको हो । आरएसएस पृष्ठभूमिबाट प्राध्यापक बनेका जगदेश कुमार नेहरुको सालिक र उनको सन्देशबाट विद्यार्थीले अध्ययन र अनुसन्धानप्रति प्रेरणा लिन नसक्ने ठम्याउँदै त्यस सालिकको समीप वा त्यसलाई ओझेल पार्ने गरी सैनिक तोप खडा गर्नुपर्ने बताउन थालेका छन् ।

हिन्दुवादी दक्षिणपन्थका प्रवद्र्धक नरेन्द्र दामोदार दास मोदी शक्तिशाली प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि भारतमा राष्ट्रवादी उन्माद ह्वात्तै बढेको छ । भाजपाले आफ्नो हिन्दुत्ववादी वैचारिक धाराको प्रवद्र्धन गर्ने उद्देश्यले भारतका अग्रणी शैक्षिक र अध्ययन–अनुसन्धान प्रतिष्ठानहरूमा जबर्जस्त आफ्नो प्रभाव बढाउन खोजेको छ । नेहरु म्युजियम, लाइब्रेरीदेखि जेएनयूसम्मका सबै संस्थामा अध्ययन–अनुसन्धानमा खासै उपलब्धि हासिल गर्न नसकेका र यस्ता संस्था सञ्चालन गर्न सक्ने ल्याकत प्रमाणित नगरेका व्यक्तिलाई नियुक्त गर्ने परिपाटी पनि स्थापित गरिएको छ । ती संस्थाले अंगीकार गरेका शैक्षिक उन्नयनका लागि आवश्यक उदार दृष्टिकोणलाई जबर्जस्त असान्दर्भिक तुल्याउने भरमग्दुर कोसिस भइरहेको छ । साथै, यस्ता संस्थाहरूमा क्रियाशील विद्यार्थी संगठन र वैचारिक बहस सञ्चालन गर्ने अध्ययन समूहको सक्रियता निस्तेज पार्न अनेक प्रपञ्च रचिएको छ । त्यस्ता षड्यन्त्रको सिकार भएर रोहित भेमुला र मुथुकृष्णन् जीवनान्थमजस्ता विद्यार्थीहरूले आत्महत्या गरे । कतिपय स्वतन्त्र र वामपन्थी लेखक र चिन्तकहरूको त हत्या नै गरियो । सत्ता विरोधी बहस, छलफल र प्रदर्शनलाई निस्तेज पार्ने वा दबाउने निर्मम कोसिस भइरहेको यसबेला जेएनयूजस्तो संस्थामा सैनिक तोप खडा गरिनुपर्ने विश्वविद्यालयका सबभन्दा जिम्मेवार व्यक्तिको रायले ठूलो खतराको संकेत गर्छ ।

लोकतन्त्रमा सार्वजनिक बहसको वृत्त बलियो र सदैव चलायमान रहन आवश्यक छ । चिया पसलदेखि विश्वविद्यालयसम्म खुला बहस र छलफलका चौतारीहरू बन्न सके मात्रै लोकतन्त्र बलियो हुन्छ । दमनका सबै संयन्त्रको प्रयोग गर्न पाउने वैध निकायका रूपमा सत्ता मौजुद भएकाले त्यसको खबरदारी गर्न र उसका ज्यादतीको विरोध गर्न बहस र प्रदर्शनका डबलीहरू आममानिसका लागि सुरक्षित स्थल हुनुपर्छ ।

भारतमा गहन र प्राज्ञिक बहस र खुला अन्तक्र्रियाका लागि ख्याति कमाएको जेएनयूले सबल ‘पब्लिक स्फियर’का रूपमा आफूलाई विकास गरेको थियो । चिन्तनको यो निर्वाध चौतारीमा सालीन बहसदेखि चर्का नाराबाजी सबै हुने गथ्र्यो । यहाँका विद्यार्थी र शिक्षकहरूको उदार प्रयत्नबाट विश्वविद्यालय आफैँमा स्वतन्त्र डबली बनेको थियो । यद्यपि, राजनीतिका नाममा मनी–मसल अर्थात् पैसा र पाखुराको जोर–जबर्जस्ती यहाँ चल्दैन थियो । विद्यार्थी संगठनहरू स्वयं बहस, अन्तक्र्रिया र उनीहरूले उठाउने मुद्दाका भरमा शक्तिशाली वा कमजोर हुने गरेका थिए ।

नियमित रूपमा र कुनै बाहिरी प्रभावबिना नै यहाँ स्वतन्त्र विद्यार्थी युनियनका चुनावहरू सम्पन्न हुने गरेकाले विश्वविद्यालयीय राजनीतिमा जेएनयूको ऊँचो पहिचान कायम थियो । चौबीसै घन्टा खुल्ने पुस्तकालय, चिया पसल र ढाबाहरू पनि आफैँमा बहसका सक्रिय चौतारीहरू थिए । सहिष्णु संस्कारमा हुर्केका विद्यार्थीहरूले निर्वाध ढंगले जुनसुकै विषयमा छलफल, अन्तक्र्रिया र अध्ययन गर्दै आएका थिए । नेहरुका अनेक विचारप्रति पूर्णतया असहमति राख्ने प्राध्यापक, विद्यार्थीहरू, विद्यार्थी संगठन वा कुनै अध्ययन समूहले नेहरुको त्यो अग्लो प्रतिमा ठुन्क्याउने वा त्यो प्रतिमाको असम्मान गर्ने काम कहिल्यै गरेका थिएनन् । किनभने, नेहरुका विचार र उनले चालेका राजनीतिक कदमलाई आलोचनात्मक व्याख्या र विश्लेषण गर्ने छूट उनीहरूले पाएका थिए ।

हुन त महात्मा भनेर पूजा गरिने मोहनदास करमचन्द गान्धीको समेत जमेर आलोचना गर्न विद्यार्थी र प्राध्यापकहरू पछि हट्दैन थिए । तिनलाई उच्च सम्मान गरेरै आलोचना गर्ने संस्कारको विकास गरेको थियो । बीआर अम्बेडकरलाई उत्तिकै सम्मान गर्ने र कडा आलोचना गर्नेहरू पनि यही विश्वविद्यालयमा अटाएका थिए । त्यसो त भीडी सावरकर, बल्लभभाइ पटेलको पनि उत्तिकै अध्ययन र चर्चा हुन्थ्यो ।

विश्वविद्यालयका होस्टलका मेसमा आएर विद्यार्थीहरूसँग अन्तक्र्रिया गर्न सत्ताको नजरमा कसिंगरजस्ती बनेकी अरुन्धती रोयले कहिल्यै धक मान्नु पर्दैन थियो । भाजपा र आरएसएसको समर्थन गर्ने विद्यार्थीहरूले रोयको विरोधमा कालो झन्डा प्रदर्शन गर्ने छुट पनि पाएका थिए । उनको विचार र लेखनीलाई ठाडै चुनौती दिएर त्यही भान्सा छलफलमा प्रश्न गर्ने स्वतन्त्रताको उपयोग पनि गरेका थिए । भूमण्डलीकरणको जयजयकार चलेको कांग्रेस (आई)को सरकारमा नवउदारवादी भूमण्डलीकरणको कडा आलोचना गर्ने वन्दना सिभाहरू आएर बोल्न यहाँ कसैले व्यवधान खडा गर्दैनथ्यो । विश्व बैंकका आलोचक जोसेफ स्टिगलिजदेखि नक्सलवादको समर्थक भनेर पक्राउ परेका जीएन साइबाबासमेत उपस्थित भएर आफ्ना विचार राखेको यही पंक्तिकारले देख्न–सुन्न पाएको हो ।

यसको मतलब जेएनयू केवल बागीहरू आएर बोल्ने अखडा मात्रै थिएन । सत्तामा रहेकै बेला शशि थरुरजस्ता विद्वान्ले छलफल चलाउने गरेका थिए, भाजपा समर्थित विद्यार्थीहरूको पहलमा उनीहरूको पक्षपोषण गर्ने चिन्तकहरूलाई समेत यहाँ आएर बोल्न र अन्तक्र्रिया चलाउन कुनै बन्देज थिएन । एपीजे अब्दुल कलामजस्ता ठूलो सम्मान पाएका पूर्वराष्ट्रपति र वैज्ञानिकलाई उनको आणविक भक्तिका कारण विरोध गर्न र आलोचनात्मक प्रश्न सोध्नसमेत यहाँका विद्यार्थी अग्रसर थिए । त्यसो गर्ने विद्यार्थीलाई यहाँ कसैले तारो बनाउँदैनथ्यो ।

अब त्यस्तो सहज अवस्था रहेन । सत्ता र सत्ताका कमजोरी अनि ज्यादतीमाथि प्रश्न उठाउने प्रत्येक विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले तारो बनाउन थालेको छ । त्यति मात्रै होइन, विश्वविद्यालयको सत्तामाथि प्रश्न उठाउने वा सन्देह व्यक्त गर्ने प्राध्यापकहरूको बढुवा रोक्नेलगायतका प्रपञ्च पनि सुरु भएको छ । सिंगो विश्वविद्यालयको उदार र स्वतन्त्र चिन्तन गर्न इच्छुक समुदाय अहिले संकटमा फसेको छ । यसैबीच भाजपा समर्थित विद्यार्थीहरूसँग विवादमा परेका नजिब नामका विद्यार्थीलाई बेपत्ता बनाइएको छ । विद्यार्थी संगठनहरूले बेपत्ता विद्यार्थीको पक्षमा वकालत गर्दा उनीहरूलाई अनेक धाकधम्की दिइएको विद्यार्थीहरूले साउतीमा सुनाउन थालेका छन् ।

‘भाइब्रेन्ट पब्लिक स्फियर’का रूपमा विकसित जेएनयू बिस्तारै अतिवादी हिन्दुत्ववादको पैरवी गर्ने संस्था बन्दै जाने संकेत देख्न थालिएको छ । सैनिक तोप खडा गर्ने उपकुलपतिको जुन स्तरमा विरोध अपेक्षा गरिन्थ्यो, विद्यार्थीहरूमाझ त्यसो गर्ने हिम्मत जुट्न नसक्नुले सुखद भविष्यको संकेत गर्दैन । भारतीय लोकतन्त्रले कस्ता संकट झेल्न सक्छ भनेर अध्ययन गर्न वा अनुमान गर्न जेएनयूको रूपान्तरण हेरे काफी हुन्छ ।

प्रकाशित: श्रावण १७, २०७४

नेपाल साप्ताहिकमा प्रकाशित

खोई आत्मसात् गरेको ?

उज्ज्वल प्रसाईं

मन्दिर प्रवेश गरेकामा लीलाधर दासले मरणासन्न हुने गरी कुटाइ खाएका छन् । किनभने उनी दलित हुन् । प्रेमबहादुर विश्वकर्माले उच्च भनिने जातका मान्छेको गोठ छोएकाले जरिवाना तिर्नुपरेको छ । किनभने उनी दलित हुन् । सूर्यनारायण खंगले स्थानीय एक शिक्षकको हातबाट कुटाइ खाए । कारण, उनी पनि दलित नै हुन् । दलित भएकैले कुटाइ खानु र नगरेको गल्तीमा जरिवाना तिर्नु कुनै नौलो घटना होइन, बरू सयौँ वर्षदेखिको स्वाभाविकता हो ।

फेरि भएन, यी पुराना समयको कुनै पुस्तकबाट टिपिएका घटना होइनन्, हालसालै पत्रपत्रिकामा छापिएका समाचार हुन् । यस्ता अरु कति घटना होलान्, जसबारे हाम्रा सञ्चार माध्यमले पत्तो पाउँदैनन् । त्यसैले यहाँ सद्भाव भन्ने शब्दको अर्थ खुइलिने गरी भाषण गर्नु सामाजिक संरचनामा कुनै दोष नदेख्ने पाखण्ड मात्र हो ।

सहरमा बसेर सामाजिक आन्दोलनको उपादेयता सकिएकामा रामरमाइलो गर्ने छुट लोकतन्त्रले दिएको छ । आन्दोलनको सवाल उठाउनेलाई विकास विरोधी, सद्भाव भड्काउने वा झन्झटको पर्याय ठान्ने छुट पनि सबैलाई छ । दलित समुदायले अहिलेसम्म आत्मसम्मानसहितको जिन्दगी जिउन नपाउने तर तिनको भोट संकलन गरेर लोकतन्त्रको सुन्दरताबारे गीत गाइरहने छुट चाहिँ कहिलेसम्म ?

महिलाहरूले छाउपडीमा कैद भएर जीवन सिध्याउन पाएका ‘स्वतन्त्रता’ लोकतन्त्रको सौन्दर्यशास्त्रमा पर्छ वा पर्दैन ? यी प्रश्नको उत्तर विकासका ठूला र चित्ताकर्षक परियोजनाको गफ गर्दा सामाजिक आन्दोलनको उपहास गर्नेहरूलाई सोधे के भन्दा हुन् कुन्नि !

कस्तो सामाजिक अन्दोलन ?

नेपालमा सामाजिक आन्दोलनहरूको अवस्था के छ ? दलित  र महिला आन्दोलन कस्तो अवस्थामा छन् ? तिनलाई हाँक्ने को को छन् ? राजनीतिक दलहरूले यस्ता आन्दोलनमा आफ्नो सहभागिता कति जनाएका छन् ? यस्ता सवालमा खोज अनुसन्धान नगरी यसै बोल्न सकिँदैन । माथि भनिएजस्ता घटना र त्यो भन्दा पनि बीभत्स घटनाहरू दिनैपिच्छे जस्तो समाचार बन्नुले सुखद संकेत गरेको छैन । भएका सामाजिक आन्दोलनहरू सुस्ताएको भान हुन्छ । राजनीतिक दल जति सबै विकासका झिलिमिली इन्द्रेणी बोकेर सहरबजारमा कुदिरहेका छन् । तिनको प्राथमिकतामा सामाजिक आन्दोलनहरू परेको जस्तो लाग्दैन । तिनले खासै गम्भीर बहस र चर्चा गरेको पनि सुनिएको छैन । बाँकी, संघ–संस्थाहरू दातालाई चाहिने खातापाता मिलाउने र आफैँले गडबड गरेका हिसाबकिताब चुस्त राख्नमै धेरै समय र ऊर्जा खर्च गर्छन् । तिनले चलाएका थरीथरीका कार्यक्रमले खासै ठूलो उपलब्धि हासिल गरेजस्तो लाग्दैन ।

आन्दोलन सञ्चालनका लागि स्रोत जरुरी छ तर स्रोतभन्दा बढी चाहिने त मौजुद अवस्थालाई बदल्ने अठोट नै हो । त्यसका लागि सामाजिक आन्दोलनका अभियन्ताहरूमा समाज, संस्कृति र अर्थराजनीतिको अध्ययनप्रति गहिरो रुचि पनि चाहिन्छ । स्रोत चाहिने नाममा आन्दोलनको चरम ‘ब्युरोक्रेटाइजेसन’ले फाइदा नपुर्‍याएको निष्कर्षमा धेरै अभियन्ताहरू आफैँ पुगिसकेको हुनुपर्छ । लेस्बियन, गे र ट्रान्सजेन्डरको सवालमा काम गर्ने ब्लु डायमन्ड सोसाइटी नामको संस्था वर्षौं चलाएपछि सुनिलबाबु पन्तले भर्खरै एक लेख लेखेर आन्दोलनको एनजीओकरणबारे चिन्ता गरेका छन् ।

तथापि सबै एनजीओ खराब र एनजीओ चलाउने सबै परिवर्तनका दुस्मन हुन् भन्ने निष्कर्ष निकालेर अर्को एउटा अर्थहीन बौद्धिक विलास गर्नुको पनि तुक छैन । बरू सबैले सोच्नुपर्ने र छलफल गर्नुपर्ने प्रश्न भनेको हामीले सामाजिक आन्दोलनहरूलाई सुचारु गर्न वा ती आन्दोलनलाई समाज परिवर्तनको शक्तिशाली ऊर्जा बनाउन गर्नुपर्ने के के काम छन् ? मौजुद संघसंस्थाले नयाँ र फरक के गर्ने ताकि साँचो अर्थमा परिवर्तन सम्भव होस् । साथै राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले सामाजिक आन्दोलन गर्न सक्छन् वा सक्दैनन् भन्ने पनि सोच्नैपर्ने विषय भएको छ ।

सबभन्दा पहिलो प्रश्न त दातामुखी नभई सामाजिक अभियान र आन्दोलनहरू सञ्चालन सम्भव छ वा छैन ? छ भने त्यो कसरी   ? बजारले झ्वाप्पै छोपेको व्यवस्थामा नि:स्वार्थ र कुनै व्यक्तिगत लाभहानिको हिसाब नगरी आन्दोलन हाँक्न कति मानिस तयार होलान् ? आन्दोलनको अगुवाइ गर्नेहरूले आफ्नो मुख्य पेसा नै आन्दोलनलाई बनाउनुपर्ने अवस्था रह्यो भने आन्दोलन स्वयं कमाउ धन्दा बन्ने निश्चित छ । त्यसो भए, अगुवाइ गर्ने र आन्दोलन हाँक्ने मानिसहरूको जीविकोपार्जनको व्यवस्थापन कसरी हुन्छ भन्ने पनि उत्तिकै सोचनीय विषय हो । आन्दोलनलाई प्रभावकारी बनाउन धेरै भन्दा धेरै सरोकार राख्ने मानिसहरू आन्दोलनसँग जोडिनुपर्ने हुन्छ । त्यस्तो सम्भव तुल्याउन स्रोतको खाँचो पर्छ । दाताको मुख नताक्ने हो भने त्यस्ता स्रोत जुटाउने सृजनात्मक तरिका अवलम्बन गर्न जरुरी हुन्छ । दाताले यस्ता सामाजिक विषय वा आन्दोलनहरूमा चासो नदिइन्जेल वा स्रोत नजुटाउन्जेल, के सामाजिक आन्दोलन भएकै थिएनन् ? थिए भने ती कसरी सम्भव भएका थिए भनेर अध्ययन गर्न जरुरी होला । पहिले अपनाइएका तौरतरिका अहिलेको समयमा कति उपयोगी छन् भनेर समेत सोच्नुपर्ने हुन सक्छ ।

सामाजिक आन्दोलनसँगको व्यवहार

यहाँनेर सँगै जोडिएर आउने प्रश्न हो, राजनीतिक दलले वा राज्यसत्ताले सामाजिक आन्दोलनसँग कसरी व्यवहार गर्छन् । नेपालमा धेरै सामाजिक मुद्दालाई राजनीतिक दलहरूले नै उठाएका हुन् । राजनीतिक शक्तिले सञ्चालन गरेका आन्दोलनका कारण धेरै उपलब्धि पनि भएका छन्, तिनलाई नजरअन्दाज गर्न मिल्दैन । तर राज्यसत्ताको अंग बन्न पुगेपछि सामाजिक आन्दोलनप्रति तिनै राजनीतिक दल सकारात्मक बन्न सक्दैनन् । गाउँमा दलित कुटिँदा, महिला छाउपडीमा मारिँदा, वा सहरमा गरिब, सुकुम्बासी र मजदुरमाथि अन्याय हुँदा राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिकाबाट उनीहरू विमुख हुन्छन् । धेरैजसो घटनामा दलका सक्रिय नेता–कार्यकर्ता वा समर्थकहरू नै संलग्न हुने भएकाले दलहरू आफ्नो स्पष्ट धारणा बनाएर अघि बढ्न सक्दैनन ।

मजदुर दिवसका दिन इँटाका भारी बोकेका केही मजदुरका फोटा छाप्नेबाहेक सहरिया मजदुरबारे खासै खोजमूलक रिपोर्टिङहरू भएका छैनन् । सहरिया मजदुरले सुखमयी जिन्दगी चलाएका होलान् भन्नेमा सबै ढुक्क भए जस्तो लाग्छ । तर, नियालेर हेर्‍यो भने फरक यथार्थ देखापर्छ । दलका वरपर हिँडिरहने ठेकेदारहरूले पाएका निर्माणका अनेक काममा मजदुरहरू दिनहुँ ठगिन्छन्, कतै कतै उनीहरूको अनाहकमा ज्यान पनि जान्छ । मजदुरहरू अनेक जोखिम मोलेर काम गरिरहेका हुन्छन्, उनीहरूको सुरक्षाका लागि कुनै पनि राजनीतिक संगठनले कार्यक्रम सञ्चालन गर्दैनन् । त्यति मात्रै होइन, सबभन्दा भुइँतहका मजदुरले आफैँ संगठित भएर आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेको सुइँको पाए भने राजनीतिक दलका ठूला नेता कम्पनी मालिकसँग सहानुभूति साट्न पुग्छन् ।

मजदुरको आन्दोलन असान्दर्भिक भएको सार्वजनिक टिप्पणी गर्छन् र तिनलाई दबाउन भरमग्दुर प्रयत्न गर्छन् । पहिले सामाजिक आन्दोलनहरूमार्फत नै बलियो जनाधार र संगठन बनाएका राजनीतिक दल सत्तामा पुगेपछि तिनका प्राथमिकताहरू सबै फरक पर्न थाल्छन् । देखाउनलाई उनीहरू केही काम गर्छन् र आफ्नो सनातनी सत्ता जोगाऊ र कमाऊ धन्दामा फर्कन्छन् । लोकरिझ्याइँका लागि सुन्दा राम्रो लाग्ने गजबका कानुनहरू निर्माण गर्छन्, तर तिनको कार्यान्वयनमा कुनै ध्यान दिँदैनन् । दलित र महिलाका नाममा विभिन्न आयोगहरू खडा गर्नमा उनीहरूको ठूलो पहल हुन्छ । तर ती आयोग आफैँ सामाजिक आन्दोलनका हिस्सा बन्न सक्दैनन् ।

कर्मकाण्डी आयोग

नेपाल सरकारले बनाएका अनेक आयोगहरूले मानवअधिकार र सामाजिक आन्दोलनहरूमा योगदान गरेको देखिँदैन । मूलत: आयोगहरू राजनीतिक दलका नेतृत्व र सत्ताका शक्तिशाली व्यक्ति र तिनको वरिपरिका साना समूहको स्वार्थबमोजिम चल्छन् । आयोगमा आफ्ना नजिकका नातेदार वा पार्टी र गुटका कार्यकर्ताहरू भर्ना गरेर तिनको जागिर सुरक्षित गरिदिने उद्यममा सबैको ध्यान केन्द्रित हुन्छ । लामो समयसम्म ती आयोगका जागिरे सदस्यका सुखसुविधाका लागि चाहिने साधनस्रोत जुटाउने ध्याउन्न देखिन्छ । त्यति गरिसकेपछि सम्बन्धित विषय वा क्षेत्रमा ठोस काम गर्नेगरी न स्रोत जुटाउने जाँगर चलाउँछन्, न कुनै उपयोगी र दिगो कार्यक्रम नै ल्याउँछन् । केवल औपचारिकता पूरा गर्ने, हाजिर गर्ने र अवधि पूरा नभइन्जेल जागिर खाने थलो मात्रै बनाउने चलन छ । साथै कर्मचारीतन्त्रको जकडबन्दीले पनि आयोगहरूको प्राण निमोठ्ने सक्दो प्रयत्न गरिरहन्छ ।

इतिहासमा कुनै आयोगले केही राम्रा काम गरेको होला, खोजे त्यसको अभिलेख पाइएलान् । तर, समग्र चित्र भने दु:खदायी छ । आयोगमा संयोगवश वा योजनाअनुरूप नै पुगेका केही निष्ठावान् सदस्यको पहलमा थोरबहुत काम हुन थाल्यो भने ती व्यक्तिहरूप्रति सत्ता नजिकका व्यक्ति र समूहहरू धेरै खुसी हुँदैनन् ।

सबभन्दा पहिले उचित काम गर्ने र आफ्नो जिम्मेवारीमा अडिग रहने सदस्यलाई आयोगबाट निकाल्न अनेक तिकडम सुरु हुन्छ । उसले गर्न खोजेका काममा अनेक व्यवधान खडा गरेर थकाउने र अन्तत: उसलाई पराजित गरेर आयोग छोड्न बाध्य पार्ने रणनीति बुनिन्छ । कुनै काकतालीले सबै सदस्यले तन्मयसाथ काम गर्न खोजे, उनीहरूलाई सहयोग गर्नुपर्ने मन्त्रालय र कर्मचारी संयन्त्रले आफैँ व्यवधान सृजना गर्न थाल्नेछन् । त्यसमाथि राजनीतिक नेतृत्वको स्वार्थसँग बाझिने काम भयो भने राजनीतिक शक्ति नै आयोगका कामसँग असन्तुष्ट बन्न थाल्छन् र आयोगका सदस्यहरूको विरुद्धमा केन्द्रित हुन्छन् । यस्ता दु:खदायी उदाहरण प्रशस्त भेटिएलान् । केही आशालाग्दा अनुहारहरू आयोगमा गएको देखेर खुसी हुन नपाउँदै तिनले छोडेको वा काम गर्न नपाएको अनेक गुनासा सुन्न थालिन्छ ।

सामाजिक संघसंस्था, राजनीतिक दल र राज्यसत्ता कसैले पनि सामाजिक आन्दोलनको उपादेयतालाई आत्मसात् गरेका छैनन् । त्यसैले सबभन्दा पहिले सामाजिक आन्दोलनबारे बहसलाई नै प्राथमिकतामा राख्न जरुरी छ । नयाँ काम गर्छु भनेर अघि सरेका संस्था, पार्टी वा पुराना पार्टीभित्रका सामाजिक आन्दोलनका महत्व बुझेका मानिसहरूले यो बहस अघि सारे सिंगो समाजलाई फाइदा पुग्ने निश्चित छ ।

प्रकाशित: श्रावण ३, २०७४

नेपाल साप्ताहिकमा प्रकाशित

किन मत्थर भयो–मधेस, जनजाति र दलित आन्दोलन ?

उज्ज्वल प्रसाईं

निर्वाचन धमाधम हुँदै छ । तीन चरण पार गरेर नयाँ बनेका र बन्ने स्थानीय तहले जनप्रतिनिधि पाउँदै छन् । यही क्रमले द्रुतता पाउने हो भने सम्भवत: सबै तहका निर्वाचन सम्पन्न हुनेछन् । यति भइसक्दा संविधान पूर्णतया वैध भएको र कार्यान्वयन भइसकेकाले यो असल छ भन्ने पुष्टि भएको दाबी गरिनेछ । तत्कालीन माओवादी र सात दलबीच १६ बुँदे समझदारी भएदेखि नेपाली जनसंख्याको एउटा हिस्साले मनाउन थालेको खुसी संविधानले सफलता पाएकामा ठूलो उत्सवमा परिणत हुनेछ ।

तर मधेस त्यो खुसीमा कतिको सामेल हुन्छ ? यो प्रश्न पूर्णतया खारेज हुनेछैन । मधेसको असन्तुष्टिलाई प्रतिनिधित्व गर्छौं भनेर दाबी गर्ने मधेसवादी दलहरूले नराम्रो राजनीतिक हार बेहोरेका छन् । तर, के यो मधेसकेन्द्रित दल र तिनको नेतृत्वको मात्रै हार हो ? यो प्रश्न राज्य पुन:संरचनासँग जोडिन्छ । राज्य पुन:संरचनाको प्रक्रियाले पूर्णता पाएको छैन भने मधेसकेन्द्रित दल र तिनका नेतृत्वको खिसिट्युरी गरेर नेपालले खोजेको शान्ति, स्थिरता र समुन्नति पाउन सक्दैन ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको बृहत् शान्ति सम्झौता नै राज्य पुन:संरचनालाई औपचारिक मुद्दा बनाउने पहिलो खुड्किलो थियो । नेपालको एकात्मक र बहिष्करणकारी राज्यसत्तालाई लोकतान्त्रिक र प्रगतिशील पुन:संरचनाबाट बदल्ने दसी त्यही सम्झौता थियो । तर, त्यसलाई आत्मसात् गरेका वा कुनै विरोध नगरी स्वीकारेका राजनीतिक शक्तिहरूले त्यो सम्झौताको मूल्य विपरीत जनता परिचालित गरे । संघीयता र समानुपातिक समावेशी राज्यव्यवस्थाको दाबी गर्ने राजनीतिक शक्तिहरूले आफ्ना मुद्दालाई राम्ररी प्रसार गर्न नसकेको सत्य हो । तर, अखण्ड सुदूरपश्चिम, अखण्ड चितवन, अखण्ड जिल्ला र अनेक अखण्डहरूका नाममा राज्य पुन:संरचनाकै विरुद्धमा ठूला जनपरिचालनहरू गरिए ।

सतहमा हेर्दा यस्ता आन्दोलनहरू स्वत:स्फूर्त उठेको देखिए पनि त्यसमा मुख्य राजनीतिक शक्ति र तिनका नेतृत्वको ठूलो भूमिका थियो भन्ने सबैलाई थाहा छ । खासगरी मधेसी वा जनजातिले अधिकार सुनिश्चित होस् भनेर सडकमा नारा लगाउन थालेदेखि नै सद्भावका नाममा ती मुद्दाको महत्वलाई नजरअन्दाज गर्ने काम पनि द्रुत भयो । अनेक रंगका नागरिक समाज वा पेसा व्यवसायीको आवरणमा यस्ता काम भए पनि यो शक्तिशाली राजनीतिक दलको सक्रिय भूमिकामा गरिएको थियो ।

यो क्रम पहिलो संविधानसभा सुचारु हुँदादेखि नै सुरु भइसकेको थियो । पहिलो संविधानसभा असफल भएपछि, संघीयता र समानुपातिक समावेशिताजस्ता मुद्दाहरूलाई आयातित र विदेशी शक्तिकेन्द्रका स्वार्थ मुताबिक लादिएका मुद्दा हुन् भनेर प्रमाणित गर्न सहज भयो । फलस्वरूप, दोस्रो संविधानसभामा खासगरी पहाडी जनमतलाई माथि भनिएका मुद्दा उठाउने पार्टीविरुद्ध मतदान गर्न प्रेरित गरियो । मधेसवादी दलहरूले सत्ताको छिनाझपटीमा फँसेर आफ्ना मुद्दालाई बेवास्ता गरेको भनेर नै मधेसी जनताले हराइदिए । यद्यपि संघीयता र समानुपातिक समावेशिताप्रति खुलारूपमा उदासीन देखिएको नेकपा एमालेले समेत आफ्ना घोषणापत्रमा मधेस अनुकूल संघीयताको वकालत गरेको थियो । दोस्रो संविधानसभा चुनावमा माओवादी शक्तिशाली नबनोस् भन्नेमा भारतले समेत सचेततापूर्वक कदम चालेको थियो ।

दोस्रो संविधानसभामा बलियो भएका नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाजस्ता राजनीतिक शक्तिको दबदबामा माओवादी टिक्न सकेन । त्यसमाथि अनेक फुटको सिकार भइसकेको माओवादीले केही दिनसम्म आन्दोलन गरेर हेरेको हो । तर, त्यसमा खासै सफल नहुने छाँट देखेपछि, कांग्रेस र एमालेसँग १६ बुँदे सहमति गर्न पुग्यो, मधेसीलाई छोड्यो । अघिल्लो संविधानसभामा उसलाई किनारामा धकेल्न भरपुर शक्ति प्रयोग गरेको भारतलाई पनि माओवादीले छक्याइदियो । माओवादी पनि कांग्रेस र एमालेसँगै उभिएपछि भारतले मधेसलाई समेटेर मात्र संविधान जारी गर्न दिएको दबाबलाई झेल्न सजिलो भयो । संविधानसभाभित्रको यस्तो राजनीतिक समीकरण बन्दै गर्दा बाहिर भने सद्भाव र अखण्डका नाममा धेरै ठाउँमा पहिचानमा आधारित संघीयताको विरोध भइरहेको थियो । मधेस र जनजाति अनुहारहरूलाई नै प्रयोग गरेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा राज्य पुन:संरचना विरोधी आवाजलाई मजबुत बनाउँदै लगिएको थियो ।

त्यसका साथै जनजाति आन्दोलनले खासै उभार ल्याउन सकेन । पूर्वमा सक्रिय रहेका लिम्बुवानजस्ता पार्टीहरू अनेक चिरामा फुटेर आपसमा लडेर निमिट्यान्नजस्तै  भए । संविधान जारी हुँदै गर्दा माओवादीहरूसमेत कांग्रेस र एमालेकै जस्तो बोली बोल्न थालेका थिए । त्यसैले माओवादीभित्रका मधेसी र जनजातिले समेत आन्दोलनको औचित्य नभएको पुष्टि गर्न आफ्नो सामथ्र्य खर्च गरे । संविधान जारी भएको क्रेडिट लिनका लागि पनि संविधान विरोधी आन्दोलन भारत सृजित हो भनेर आरोप लगाउनेमा माओवादी अग्रभागमै थियो । यसरी संविधानले ‘डाइल्युट’ गरेका मुद्दाहरूलाई आफ्नो सफलताका रूपमा भजाउन खोज्दा राज्य पुन:संरचनाको एजेन्डा अपूरै रहेको तथ्यलाई भुल्न माओवादीले सुबिस्ता मान्यो ।

यसबीच पंक्तिकारले देशका विभिन्न ठाउँमा पुगेर आमनागरि कसँग अन्तक्र्रिया गर्दा संघीयता र समानुपातिक समावेशिताबारे ठूला विभ्रमहरू रहेको बुझेको थियो । पूर्वका पहाड र पहाडे बाहुल्य तराईका सहरमा संघीयतालाई जग्गा प्लटिङ गरेजस्तो देशलाई चिरा पार्ने र कमजोर बनाउने व्यवस्था हो भनेर व्याख्या गर्थे । समानुपातिक समावेशी व्यवस्थाले बाहुन–क्षत्रीलाई पाखा लगाएर जनजाति र मधेसीले एक्लै राज गर्न पाउने व्यवस्था हो भन्ने बुझाइ नै आम थियो । महेन्द्रनगरमा भेट भएका कांग्रेसका एक नेताले अखण्ड सुदूरपश्चिमको आन्दोलन उठाउनमा गैरथारु पहाडी समुदायमा कस्ता व्याख्या प्रचार गरिएको थियो भनेर सुनाएका थिए । कांग्रेस, एमाले, र माओवादी समेतका ठूला नेताको त्यसमा कस्तो संलग्नता थियो भन्ने उनले विस्तारमा बताएका थिए । उनले आफूले सुरक्षित ठाउँमा बसेर गरेका कामको फेहरिस्त पनि सुनाए । ती कांग्रेस नेतासँगको कुराकानीबाट ठूला राजनीतिक शक्तिहरूले सामान्य मानिसमा भ्रम छर्न र राज्य पुन:संरचनाका मुद्दाप्रति आममानिसलाई भयग्रस्त बनाउन कस्तो भूमिका खेले भनेर अन्दाज गर्न सकिन्थ्यो ।

सत्य के पनि हो भने आन्दोलनमा उठेका सबै मुद्दाप्रति सबै आमनागरिकको बुझाइ चुस्त हुँदैन । न उनीहरूले सांगोपांगो सबै बुझेर समर्थन वा विरोध गरेका हुन्छन् । सामान्य मधेसी जनतासँग राज्य पुन:सरचनाबारे कसैले सवाल जवाफ गर्‍यो भने तिनले चित्तबुझ्दो उत्तर दिन सक्दैनन् । तर, आममानिसमा जस्ता व्याख्याको प्रभाव पर्छ, उनीहरूको राजनीतिक संलग्नता र क्रियाकलाप पनि त्यसैअनुसार डोरिन्छ । त्यो आमबुझाइले नै कुनै पनि राजनीतिक मुद्दालाई वैध वा अवैध ठहर्‍याउँछ ।

त्यसमाथि जसका लागि यी मुद्दा उठाइएका हुन्, त्यही समुदायका मानिसहरूलाई मुद्दाको भ्रष्टीकरणमा प्रयोग गर्न सक्दा, त्यसले वैधता पाउन एकदमै अप्ठ्यारो हुन्छ । फेरि भएन, यस्ता मुद्दाहरू सहजै बुझाउन पनि सकिँदैन । तिनमा अनेक जटिलता हुन्छन् । जस्तो, पहिचान र सामथ्र्यका आधारमा संघीयताबारे बुझाउन सजिलो छैन । जनसंख्या अनुपातमा राज्यका अंगहरूमा प्रतिनिधित्व सुनिश्चित गर्दा के कस्ता फाइदा हुन्छन् भनेर बुझाउन पनि उति सहज हुँदैन । त्यसैले यस्ता विषयमा भ्रम र भय सृजना गर्न अत्यन्तै सहज हुन्छ । यस्ता मुद्दालाई सतही रूपमा व्याख्या गरेर तिनका कमजोरी औँल्याउन सहज हुने भएकैले जनमतलाई यी मुद्दाविरुद्ध उराल्न सजिलो भएको हो । त्यसैले राज्य पुन:संरचनाका सबै एजेन्डालाई भुत्ते बनाउनमा ‘देश कमजोर हुने र राष्ट्रवाद बलियो नहुने’ नारा अघि सारिएको हो । यो नारा जनसंख्याको ठूलो हिस्सामा सजिलै बिकेको छ । त्यसमाथि मधेस आन्दोलनका बेला भारतले नाकाबन्दी गरिदिएपछि सिंगै मुद्दा भारतको स्वार्थपूर्ति गर्न मात्रै उठाइएको हो भनेर लाञ्छित गर्न सजिलो भयो ।

त्यसैले यस्ता भ्रम र भय सृजना हुन नदिन मुद्दालाई आत्मसात् गरेका राजनीतिक शक्तिहरूले पहिले आफ्नो बुझाइ गहिरो बनाउन काम गर्नुपथ्र्यो । साथै, मुद्दासम्बन्धी गहिरो सुझबुझलाई ‘आर्टिकुलेट’ गर्न उपयुक्त भाषा र माध्यमहरूको खोजी गर्नुपथ्र्यो । सँगसँगै संगठन बलियो बनाउन धेरै मिहिनेत गर्न जरुरी थियो । यति गर्दा पनि भ्रम र भय त सृजना हुने नै थिए । तिनलाई चिर्न प्रभावकारी जागरण अभियान सञ्चालन गर्नु उपयुक्त हुन्थ्यो । यसरी इमानदार प्रयत्न गरेको भए सम्भवत: कुनै बाहिरी शक्तिको आडभरोसाबिना पनि आन्दोलनमा ठूलो उभार ल्याउन सकिन्थ्यो ।

जनजातिको प्रतिनिधित्व गर्छौं भनेर दाबी गर्ने पार्टीहरूले व्यापक रूपमा प्रचारप्रसार गर्न सकेको भए पनि कम्तीमा जनजाति समुदायमा उनीहरूको प्रभाव बलियो हुन्थ्यो । मधेसले मात्रै आन्दोलनको ठेक्का लिएर बस्नुपर्ने थिएन  । त्यसका साथै पहाडी बाहुन–क्षत्री र अन्य समुदायसँग विमर्श गर्ने उचित फोरम र अभियानहरू बनाउन सक्नुपथ्र्यो । उनीहरूसँगको शालीन र घनीभूत संवादले त्यो समुदायको मनमा पैदा गरिएका अर्थहीन भय निवारण हुन्थ्यो । त्यसले धेरैमा जनजाति, मधेसी र दलितका मुद्दाबारे सहानुभूति बढ्न थाल्ने थियो । तर, यस्ता जागरण अभियान र विमर्शका प्रयत्नहरूको साटो केही जनजाति नेता र सक्रिय कार्यकर्ताहरू समेतले सधैँ आक्रोश र क्षुब्धता मात्रै व्यक्त गरिरहे । कतिपय जनजाति नेताका सम्पूर्ण सामथ्र्य मुद्दाको अतिरञ्जनामा खर्च भएको देखियो । पाँचथरमा एक सक्रिय कांग्रेसी कार्यकर्ताले भनेको सम्झना हुन्छ– ‘लिम्बुवानका साथीहरूले उठाएका केही मुद्दा मलाई जँँचेको थियो । तर, उनीहरू कहिल्यै राम्रोसँग संवाद गर्न आएनन् । सधैँ लौरो लिएर सडकमा हिँडेको मात्रै देखिन्थ्यो ।’

राज्य पुन:संरचनाको मुद्दा पूर्ण नभइसकेकाले अझै मधेस आन्दोलनको उपादेयता गुमेको छैन । तर, नेतृत्वले आफ्नो कौशल र निपुणता वृद्धि गर्न जरुरी छ । साथै, राजनीतिमा मूल्यको ठूलो अर्थ र प्रभाव हुन्छ भन्ने स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । मधेसको वर्तमान नेतृत्व अक्षम भएको हो भने, मधेसबाट नयाँ र युवा पुस्ताको नेतृत्व विकास हुने प्रचुर सम्भावना छ । आशाको दियो जलाइरहने सामथ्र्य युवाहरूसँगै हुन्छ । 

प्रकाशित: असार १९, २०७४

नेपाल साप्ताहिमा प्रकाशित

सिंगापुर होइन, बास्क मुलुकजस्तो

उज्ज्वल प्रसाईं

नेपालमा विकासबारे चर्चा गर्दा अक्सर सिंगापुर र ली क्वान यूको नाम लिइन्छ । आधुनिक सिंगापुरको विकास गरेका यूको जीवनी यहाँ सर्वाधिक बिक्री भएका किताबमध्येमा पर्छ । सतहमा देखिएका नयाँ राजनीतिक दलले समेत यूको बाटो समाते उपयुक्त हुने उपदेश नेपाली छापामा प्रशस्तै आइरहेका छन् । नयाँ ढंगले राजनीति गर्छु भनेर दाबी गर्ने युवा नेता र नयाँ दलका नेता आफैँले समेत बेलाबखत सिंगापुरका किस्सा सुनाउन भुल्दैनन् । अरू त अरू, सशस्त्र विद्रोहबाट खारिएका भनिएका माओवादी नेताले समेत छापा र टेलिभिजनमा सिंगापुरकै गफ गर्न थालेका छन् । केही वर्षअघि एक जानेमानेका कृषिविज्ञले यस पंक्तिकारलाई यूको जीवनी अनुवाद गर्न सल्लाह दिए । त्यसका लागि खर्च जुटाउने आश्वासन पनि दिए । अर्थात्, सिंगापुर धेरैका लागि आदर्श विकासको मोडल हो र ली क्वान यू धेरै नेपालीका हिरो हुन् ।

ली क्वान यूका कथा–कहानी पढ्दा कुनै बेफाइदा नहुने भए पनि विकासको सिंगापुरे रटान खासै काम लाग्दैन हामीलाई । सिंगापुरे रटानभन्दा बढी उपयुक्त अरू अध्ययन सामग्री हुन सक्छन् । जस्तो : भारतका प्रसिद्ध समाजशास्त्री दिपांकर गुप्ताले केही वर्षअघि लेखेको रिभोलुसन फ्रम अबोभ: इन्डियाज फ्युचर एन्ड सिटिजन एलिट नामको पुस्तकमा उल्लेख भएका केही दृष्टान्तहरूमा छलफल बढी सान्दर्भिक र उपयोगी हुन्छ भन्ने लाग्छ । गुप्ताको एउटा किताबले हामीलाई उन्नतिको बाटो देखाउन सक्छ र उनले भनेको बाटो नै सबैभन्दा उत्तम हो भनेर यहाँ दाबी गर्न खोजिएको होइन । उनका केही प्रस्तावमा प्रशस्त सन्देह पनि छ । तर, राज्यलाई बढीभन्दा बढी कल्याणकारी बनाउने, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा व्यापक लगानी बढाएर छोटो समयमा समतामूलक र उन्नत समाजको निर्माण गर्न सकिन्छ भन्ने उदाहरणका लागि यो किताब बहसको प्रस्थानविन्दु भने हुन सक्छ । राज्यको कल्याणकारी रूप कस्तो हुन्छ भनेर गुप्ताले आफ्नो अध्ययन र अनुभवबाट केही उपयोगी उदाहरण पेस गरेका छन्, ती सबैमा हामीले विमर्श बढाउन सक्छौँ । त्यसका लागि सञ्चारमाध्यम नै उपयुक्त थलो हुन सक्छ ।

गुप्ताले पेस गरेको एउटा उदाहरणबारे चर्चा गरौँ । भारतले स्पेन राज्य अन्तर्गत पर्ने बास्क राष्ट्रले गरेको उन्नतिबाट सिक्न सक्छ भन्ने हेतु उनले बास्क मुलुकको विगत र वर्तमानको छोटो तर स्पष्ट चित्र खिचेका छन् । यो उदाहरण भारतको छिमेकमा रहेको र धेरै सांस्कृतिक समानतासमेत भएको नेपालका लागि पनि उपयोगी हुन सक्छ । बास्क मुलुक आफ्नो विशिष्ट भाषा, संस्कृति र समाज सञ्चालनको मौलिक कानुनसमेत भएको राष्ट्र हो । स्पेनमा जनरल फ्र्यांकोजस्ता तानाशाहले शासन गरेका बेला बास्कलाई अधिनस्थ बनाएका थिए । यो क्षेत्र उनको अधीनमा त थियो नै, यहाँको विशिष्ट भाषालाई पनि उनले अवैध करार गरेका थिए । बास्कविरुद्ध चरम विभेद गरिएको थियो र त्यो विभेद कायम गर्न बास्केलीहरूमाथि उनले ठूलो अत्याचार गरेका थिए । त्यो क्षेत्रलाई स्पेन राज्यबाट अलग गर्नुपर्छ भनेर स्वतन्त्र बास्कका लागि सशस्त्र विद्रोह पनि भएको थियो । इकादी टा अकाटासुना अर्थात् ‘ईटीए’ भनेर चिनिने पृथकतावादी सशस्त्र समूहले स्पेनसँग लामो लडाइँ लडेको इतिहास छ । यो समूहले स्थानीय जनता र त्यहाँको प्रख्यात क्याथोलिक चर्चको समेत समर्थन प्राप्त गरेको थियो ।

तानाशाह फ्रान्कोका समर्थकहरूलाई तारो बनाएका कारण पनि सो समूह स्थानीयमाझ चर्चित थियो । फ्रान्कोले हिटलर र उनका इटालियन समर्थकलाई बास्क क्षेत्रमा शक्तिशाली बम खसालेर विस्फोटको परीक्षण गर्न अनुमति दिएका थिए । बास्क क्षेत्रको गुएर्निका नामको सहरमा त्यो बम सन् १९३७ मा स्थानीय चर्चमा चार सयभन्दा बढी भेला भएका बेला खसालिएको थियो । त्यहाँ भएको संहारको सम्झनामा नै प्रसिद्ध चित्रकार पाब्लो पिकासोले गुएर्निका नामको चित्र बनाएका थिए, जो अद्यापि चर्चित छ ।

बास्क क्षेत्र समुद्री यातायात र स्टिल उद्योगका लागि प्रख्यात थियो । स्पेन राज्यले सो क्षेत्रका यिनै दुई स्रोतलाई सक्दो दोहन गरेको थियो । तर, यी दुवै क्षेत्रको स्तरोन्नति गर्न भने उदासीन थियो । फलस्वरूप १९७० को आर्थिक मन्दीले सिंगो बास्क क्षेत्रलाई नराम्रोसँग गाँज्यो र विपन्नता भोग्यो । सन् १९८० मा स्पेनमा लोकतन्त्रको स्थापनापश्चात् बास्कले स्पेन राज्यसँगै रहने सम्झौता गर्‍यो । तर, सो क्षेत्रले आफ्नो स्रोतको प्रयोग आफ्नो तजबिजले गर्न पाउनुपर्ने सर्त राख्यो । स्थानीय कर बास्क सरकारले उठाउने उसको सर्त मान्य भयो । केही अंश केन्द्रीय सरकारलाई बुझाएर करको ठूलो अंश आफ्नो अनुकूलतामा प्रयोग गर्ने सो आर्थिक सम्झौताले नै बास्कलाई प्रगति र लोकतान्त्रिक व्यवस्थाको नमुना क्षेत्रका रूपमा विकास गरेको गुप्ताको दाबी छ ।

बास्क मुलुकले गरेको प्रगति हेर्न, त्यसबारे अध्ययन गर्न र त्यहाँ अभ्यास गरिएको कल्याणकारी राज्यको प्रकृतिबारे बुझ्न गुप्ताले पुस्तक र रिपोर्टहरूको अध्ययन मात्रै गरेनन्, त्यहाँ बसेर जिम्मेवार पदमा रहेर काम गर्नेहरूसँग अन्तरंग अन्तक्र्रिया पनि गरे । उनका अनुसार ईटीएजस्तो पृथकतावादी सशस्त्र विद्रोह गर्न सक्ने बास्कका नागरिकहरूको ऊर्जालाई पछिल्लो समयमा त्यस क्षेत्रको उन्नतिका लागि भरपूर उपयोग गरियो । २५ वर्षको छोटो अन्तरालमा उनीहरूले शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनमा असाध्यै ठूलो छलाङ मारे । सन् १९८० मा दुर्गन्धित लेदो बगाएर बसेको नर्भियन खोलालाई उनीहरूले सफा र नीलो पानी बग्ने सुन्दर खोलामा परिणत गरे । जम्मा तीनवटा पुल भएको यो खोलामाथि हिँडडुल सहज बनाउन अहिले १३ वटा पुल छन् । बिल्बाओ सहरलाई पर्यटकीय नगरका रूपमा विकास गरेर बडो शान्त र सुन्दर बनाएका छन् । आकाश उघ्रिएका बेला वरपर उभिएका हरिया पहाडमा पर्यटकहरूले निर्बाध चरिरहेका भेडा हेरेर दंग पर्ने गरेको गुप्ताले आफ्नो किताबमा लेखेका छन् ।

पुराना उद्योगहरू जो वातावरणीय प्रदूषणका मुख्य कारण थिए, लाई अत्याधुनिक मात्रै बनाएनन्, प्रदूषणलाई उल्लेख्य मात्रामा कम पनि गरे । त्यसैले पहाडमा हरियाली बँचेको छ, भेडाबाख्रा निर्बाध चर्न पाएका छन् । उद्योग र कलकारखाना चलाएर स्पेनले भन्दा दोब्बर निर्यात गर्ने क्षमताको वृद्धिसमेत गरेका छन्, बास्केलीहरूले ।

यसरी विकास गर्नका लागि उनीहरूले विगतका सांस्कृतिक विभेद र अन्यायी व्यवस्थाको अन्त्य गरे । अहिले उनीहरू पुराना घाउ सुमसुम्याएर बसेका छैनन् । विभेदका पुराना कथा दोहोर्‍याउनुपर्ने अवस्थाबाट समेत मुक्त भइसकेका छन् । कारण, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सबैले समान पहुँच पाएका छन् । गुप्ताले सन् २०१० को तथ्यांक उल्लेख गर्दै आफ् नो पुस्तकमा भनेका छन्, ‘बास्कले कुल बजेटको ३५.८ प्रतिशत स्वास्थ्य क्षेत्रमा र २५ प्रतिशत शिक्षामा लगानी गरेको छ ।’ औसत आयुमा युरोपमा बास्क क्षेत्रले सबैलाई उछिनेको छ । जबकि, नेपालले शिक्षामा कुल बजेटको ९.९१ प्रतिशत मात्रै छुट्याएको छ । एक दशकअघि कुल बजेटको १७ प्रतिशतसम्म पुगेको शिक्षाको लगानी निरन्तर घटिरहनु सुखद संकेत होइन ।

बास्कमा भव्य संग्रहालय, वैज्ञानिक अनुसन्धानका केन्द्रमा प्रचुर लगानी र उद्यमशीलता बढाउन गरिएको योजनाबद्ध कामबाट नेपालजस्तो देशले काम गर्ने हौसला प्राप्त गर्न सक्छ । गुप्ताको दलिल अनुसार यी सबै काम गर्नका लागि क्याबिनेटमा पुगेका केही ‘भिजनरी’ नेताहरू र तिनलाई सघाउन तत्पर अध्ययनशील मानिसहरूको भूमिका अहम् रह्यो ।

समाजशास्त्री गुप्ताको अध्ययनबाट सापटी लिएर यहाँ चर्चा गर्नुको ध्येय नेपाललाई अर्को बास्क बनाउने सपना देख्न थाल्नुपर्छ भन्ने होइन । वा, स्वीट्जरल्यान्ड बनाउने कोरा सपनाको नयाँ संस्करण जरुरी छ भनिएको पनि होइन । बस्, संसारमा जथाभावी निजीकरण नगरी, राज्यले लिनुपर्ने जिम्मेवारी बेइमान बजारको जिम्मा नलगाई भएका प्रगति हाम्रा लागि अध्ययनको विषय बन्न सक्छ भन्ने मात्र जिरह गर्न खोजेको हो । नेपालमा पनि हाम्रा राजनीतिक दलले कचल्टिएको नवउदारवादलाई शिरमा बोकेर हिँड्नुभन्दा राज्यलाई कल्याणकारी बनाउन अवलम्बन गर्न सकिने उपायहरूको खोजी गर्नु उपयुक्त हुन्छ । विश्व बैंक र अन्तरार्ष्ट्रिय मुद्राकोषका प्रयोगशाला नबनेर शिक्षा र स्वास्थ्यमा राज्यको लगानी व्यापक बनाउन सकिन्छ । त्यो लगानीको सदुपयोग भए/नभएको चुस्त अनुगमन गर्न सकिन्छ ।

त्यसरी गरिएको प्रचुर लगानीबाट वर्चस्वशालीले मात्रै लाभ लिइरहने खतरा हुन्छ । त्यसैले राज्यलाई सक्दो समावेशी बनाउन र समावेशिता सिद्धान्तलाई अहिलेको संविधानले जस्तो भुत्ते नबनाउन सकिन्छ । साथै, आलोचनात्मक चेतनासहितको बलियो नागरिक समाज बनाउने खालको शिक्षा प्रणालीको विकास र त्यही अनुसारको उन्नत राजनीतिक संस्कार स्थापित गर्न सकिन्छ । यसरी छोटो समयमा उन्नत र समतामूलक समाजको निर्माण गर्न सम्भव छ ।

यहाँनेर प्रश्न उठ्छ, के विद्यमान नेतृत्वबाट यो सम्भव छ ? खासै उत्साहित हुने ठाउँ छैन । तर, युद्ध, कलह र विभेदले क्षतविक्षत भएको बास्क फिनिक्स चराजस्तो खरानीबाट उठेर अहिले समुन्नत बनेको छ भने हामी पनि आशावादी हुनैपर्छ । बौद्धिक हस्तक्षेपले अहिले सुषुप्तजस्ता देखिएका भिजनरी र हिम्मतिला नेतृत्वले बल पाउनेछन् भन्ने आशा गर्न सकिन्छ । अहिलेलाई ली क्वान यूको सस्तो हल्लाखल्लाबाट मुक्त भएर गहिरो अध्ययन, चिन्तन र सार्वजनिक विमर्श व्यापक बनाउन सके काफी हुन्छ ।

प्रकाशित: असार ७, २०७४

नेपाल साप्ताहिकमा प्रकाशित

को जनता ? के हो नागरिक समाज ?

उज्ज्वल प्रसाईं

नेपाली राजनीतिमा सबैभन्दा बढी उच्चारण गरिने शब्द हो– जनता । चलायमान लोकतन्त्रका लागि जनता शब्द अत्यन्त उपयोगी मानिन्छ । राजनीतिक नेतृत्वले जस्तोसुकै निर्णय गरे पनि त्यो जनताका नाममा गर्छन् । चाहे दलको नेतृत्वमा बसेर गरिने निर्णय होस् वा सत्ताको हिस्सेदार भएर गरिएको निर्णय होस्, त्यो जनताकै नाममा गरिन्छ । राजनीतिक र सामाजिक आन्दोलनको उठान पनि जनताको नाममै हुन्छ । कुनै बिन्दुमा ती आन्दोलनहरूको दमन वा विसर्जन पनि त्यही जनताकै खातिर गरिन्छ ।

हुन त निरंकुश राजतन्त्रमा समेत राजा र भारदारहरूले जनताकै नाम भजाउँथे । पहिले प्रजा भने, पछि प्यारा दाजुभाइ–दिदीबहिनी भने । लोकतन्त्रका लागि लडेकाहरू प्राय: पहिले राजाका प्रजा थिए । आममानिसहरू लोकतन्त्रमा सत्ता सञ्चालक बनेपछि जनता शब्द उच्चारण नगरी कुनै पनि नेताको बोली टुंगिँदैन ।

गैरसरकारी संस्थाहरूले पनि जनता शब्द अत्यधिक प्रयोग गर्छन् । उनीहरूले जनताका अनेक रूप सिर्जना गरेका छन् । कोही लक्षित समुदाय भन्छन्, कोही ‘स्टेकहोल्डर’ अर्थात् साझेदार समूह भन्छन्, अचेल धेरैजसो ‘सिविल सोसाइटी’ अर्थात् नागरिक समाज भन्छन् । त्यही जनतालाई कहिले ‘रिसिपियन्ट’ अर्थात् प्रापक भनेर चिनाउँछन् त कहिले उपभोक्ता समूह भन्ने नाम दिन्छन् । यी सबैलाई विशिष्टीकरण नगरी भन्नुपर्दा ‘पिपल’ अर्थात् जनता भन्छन् । खास गरी राज्यले पुर्‍याउन नसकेका सेवा–सुविधा बाँड्ने र विकास निर्माणका काममा जनतालाई पनि संलग्न गराउने भनेर खोलिएका गैरसरकारी संस्थाले जे गर्छन्, जनताका नाममा नै गर्छन् ।

अर्थ खुइलिने गरी अति प्रयोग हुन थालेको यो शब्द आफैँमा एक अवधारणा पनि हो । सर्वसाधारण भन्ने शब्द पनि उत्तिकै प्रयोग हुन्छ । भारतमा आम आदमी नाम राखेर राजनीतिक दल नै बन्यो । नेपालका कम्युनिस्ट पार्टीले पत्रिका प्रकाशन गरून् वा चिया पसल खोलून् वा निजी अस्पताल सञ्चालन गरून्, जनता वा ‘जन’ शब्दको फुर्को कतै न कतै जोडेकै हुन्छन् । वामपन्थीहरूको सक्रियतामा खुलेका निजी बैंकका नाममा समेत उही जनता जोडिएको छ । निजीकरणको विरोध यथावत् राखेर निजी स्तरबाट धमाधम विद्यालय, कलेज र अस्पतालको व्यापार गर्न थालेकाहरू समेतले जनता शब्दप्रतिको मोह छोडेका छैनन् ।

तर, कसैले जनता शब्दलाई एक अवधारणाका रूपमा ग्रहण गरेर त्यसको प्राज्ञिक चिरफार गरेको सम्झना छैन । लोकतन्त्र नामको राजनीतिक व्यवस्थाबारे अध्ययन गर्ने खास गरी पश्चिमा राजनीतिशास्त्रीहरूले जनताको अवधारणालाई पर्गेल्न कोसिस गरेका छन् । तिनै प्राज्ञिक बहसलाई समेत हाम्रोमा उति उठान गरेको सम्झना छैन । सार्वजनिक विमर्शमा त यस्तो अवधारणागत विषयको उठान हम्मेसी हुँदैन । कसैले त्यस्तो सैद्धान्तिक चर्चा गर्न खोज्यो भने उसलाई सकेसम्म चुप लगाउन खोजिन्छ । यहाँ त्यो शब्दको राजनीतिशास्त्रीय अन्वेषण सम्भव छैन । केही आधारभूत प्रश्न मात्रै उठाउन खोजिएको छ ।

जनता भनेकै दलाल ?

नेपालको तीन करोड जनसंख्यामध्ये ४० लाखभन्दा बढी मानिस मुलुकबाहिर छन् । यो सरकारी तथ्यांक हेर्दा यस्तो लाग्छ– मानौँ तेस्रो मुलुक गएर काम गर्नेहरू यो मुलुकका दास हुन् । कारण, कुल गार्हस्थ उत्पादन बढेको हर्षबढाइँ गरिरहँदा होस् वा हाम्रो लोकतन्त्रको महत्ता स्थापित गर्न चुनाव नामको पर्व मनाउँदै गर्दा होस्, उनीहरूलाई नागरिकको हैसियत दिइएको छैन । बरू, राज्यले ती मानिसहरूलाई निर्जीव तथ्यांकहरूको फेहरिस्त मात्रै मानेको छ । उनीहरूको श्रमले अर्थतन्त्र धानिरहेका बेला राज्यले यी श्रमिकहरूलाई हरेक पाइलामा गर्ने व्यवहार हेर्‍यो भने उनीहरूले नागरिकको हैसियत नपाएको देखिन्छ ।

विदेश जान म्यानपावर नामका अधिकांश ठगी गिरोहहरूका हातमा खेलौनाजस्तो भएर दिनहुँ हल्लिनुपर्छ । यस्ता कम्पनीमार्फत विदेश पुगेर श्रम गर्न चाहनेहरूमध्ये धेरैजसो ठगिने गरेका छन् । राम्रो ठाउँमा पुगेर राम्रै आम्दानी गरेकाहरूले समेत कुनै न कुनै मौकामा ठगिएकै कथा सुनाउँछन् । यस्ता अव्यवस्था सुधार्नमा राज्य कमजोर साबित भइसकेको छ । त्यसै गरी उता पुगेपछि श्रमिकले पाउने दु:ख, हैरानी र यातनाको राज्यसँग कुनै लेखाजोखा नै छैन । त्यसउपर उनीहरूलाई श्रम गर्न जाने इजाजत दिन खडा गरिएका कार्यालयहरूले श्रमिकलाई दिने हैरानी कति हुन्छ, भनेर साध्य छैन ।

त्यस्ता कार्यालयमा कर्मचारीभन्दा बढी दलालहरूको दबदबा चल्ने गरेको सबैले सहजै पचाएको सत्य हो । यस्ता हैरानीबारे पढ्न बजारमा केही किताबहरू नै उपलब्ध छन् अब । त्यसैले यो कुनै छोपिएको सत्य होइन । बरू, आमबुझाइ हो । तर, तुरुन्तै सुधार्न सकिने अव्यवस्था कायम राख्नमा सत्ता सञ्चालकका वरपर घुम्ने दलालहरूलाई फाइदा छ । दलालहरूले दलालहरूकै लागि उपयोग गरेको व्यवस्था जस्तो भएको छ, हाम्रो लोकतन्त्र । यसरी हेर्दा हाम्रो नेतृत्व बडो स्वादले उच्चारण गरिरहने जनता शब्दको साँचो अर्थ दलाल हुन आउँछ ।

अर्थतन्त्र धान्न जीवनको सबैभन्दा गतिशील समय र सक्दो ऊर्जा खन्याएका यी श्रमिकहरूलाई चुनावमा सहभागी हुने व्यवस्था मिलाउन सकिएन । यी ४० लाखभन्दा बढी संख्याका बालिग नागरिकलाई बाहिरै राखेर स्थानीय, प्रादेशिक र केन्द्रको निर्वाचन हुँदै छ । सतहमा हेर्दा यो बिलकुल प्राविधिक समस्या हो । स्थानीय निर्वाचनभन्दा अघि यसबारे केही छलफल भएका थिए । सरकारी तवरबाट समेत प्रयत्न गर्न खोजिएका खबर आएका थिए ।

गैरसरकारी संस्थाहरूले ती मुलुकबाहिर भएका नागरिकहरूको मत समेट्न अपनाउनुपर्ने उपायबारे अध्ययन गरेको खबर पनि सार्वजनिक भएको हो । त्यही अध्ययनका नाममा केही जिम्मेवार मानिसहरूले विभिन्न ठाउँको भ्रमण गरेको पनि सत्य हो । तर, ठोस काम केही भएन । निर्वाचन आयोगले नेपालीहरू १ सय १० देशमा फैलिएर बसेको र उनीहरू सबैलाई निर्वाचनमा समेट्न अत्यन्त महँगो पर्ने जवाफ दिएको थियो । तर, के यो प्राविधिक समस्या मात्रै हो त ? जनसांख्यिक राजनीतिको दृष्टिकोणबाट हेर्दा हामीले अभ्यास गरेको लोकतन्त्र अत्यन्त कमजोर रहेको प्रमाणित हुन्छ ।

उल्लिखित तथ्यांकमा भारतमा काम गर्न गएकाहरूको संख्या जोडिएको छैन । कारण, सरकारसँग त्यस्तो तथ्यांक नै छैन । त्यसो भए भारतमा काम गर्ने नेपाली श्रमिकहरू शासकका बोलीमा हरपल झुन्डिइरहने जनता भन्ने अवधारणामा अटाएका छन् ? यस अर्थमा, नेपाली राज्यले भारतमा काम गर्नेहरूलाई त तेस्रो मुलुकका श्रमिकहरू जस्तो निर्जीव तथ्यांकसमेत पनि नमानेको देखिन्छ । सीमापारि गएर श्रम गरेर खाने मानिसहरूको सामान्य रेकर्ड राख्न नसकिने होइन । तर, त्यसमा जोडिन सक्ने भूराजनीतिक जटिलता सम्बोधन गर्ने झन्झट कोही उठाउन चाहँदैन । जनताका नाममा सारा नकामहरू गर्न सक्ने नेतृत्वले सामान्य भूराजनीतिक जटिलता झेलेर उनीहरूको श्रमको सामान्य मूल्यांकन पनि गर्न सक्दैन ।

नेता दाता, जनता मगन्ते ?

शासकहरू जनता शब्दको प्रयोग गरिरहँदा, एउटा यस्तो समूहको परिकल्पना गरिरहेका हुन्छन्, जो उनीहरूभन्दा तल बसेर केही माग्न हात थापिरहेको हुन्छ । नेता ‘पेट्रन’ बनेको हुन्छ, जनता ‘क्लाइन्ट’ । त्यसैले सोझै नभने पनि जनतालाई हरपल केही न केही मागिरहेको मगन्तेका रूपमा शासकहरूले बुझिरहेका हुन्छन् । जस्तो : जनतालाई पुल बनाइदिनु छ, खानेपानी पुर्‍याइदिनु छ, उनीहरूका हातमा औषधि राखिदिनु छ, पाठ्यपुस्तक दिनु छ, जागिर लगाइदिनु छ । जनता शब्दमा सिंगो समाज निहित हुँदैन वा नेता वा शासकहरूले आफूलाई समेत त्यसैमा जोडेर व्याख्या गरिरहेका हुँदैनन् ।

उनीहरू जहिल्यै आफूलाई माथिल्लो तहमा राख्छन् किनभने उनीहरू राज्यसँग सुरक्षित शक्तिको प्रत्यक्ष दोहन गर्ने अख्तियारी पाएका मानिस हुन् । त्यसैले जनता शब्दको प्रयोग गर्दा उनीहरू आफूलाई विकास र रोजगार बाँड्न सक्ने र परिआउँदा जनताको ज्यान मास्न पनि सक्ने शासकका रूपमा सम्झिरहेका हुन्छन् । आखिर जस्ता सेवा–सुविधा बाँडे पनि वा जस्ता हतियार कोतमा जम्मा पारे पनि, ती सबै आममानिसका श्रमबेगर सम्भव हुँदैन । तर, मुलुकभित्र र बाहिर बसेर श्रम गर्ने नागरिकहरू नै अर्थतन्त्रको मौलो हो भन्ने बुझाइलाई जनता शब्दको आमप्रयोगले समेट्न सकेको छैन ।

हुन त गैरसरकारी संस्थाहरूसमेतले आफूलाई खास समूहका मसिहाका रूपमा व्याख्या गरिरहेका हुन्छन् । कुनै मुलुकका जनताले श्रम गरेर उत्पादन गरेको धन कुनै अर्को मुलुकको जनताको हितमा प्रयोग गर्ने चलन चलेको धेरै भयो । तर, यस्ता सहयोगप्रतिको बुझाइमा पनि ठूला विभ्रम छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत जनताका नाममा आएका स्रोत सीमित मानिसका हातमा आइपुग्छ । तिनले आफूलाई त्यो स्रोतका मालिक सम्झिन्छन् र जसका नाममा त्यो पठाइएको हो, तिनलाई मगन्तेका रूपमा बुझ्छन् ।

कसको नागरिक समाज ?

हामीकहाँ जनता शब्दको अति प्रयोग हुने तर त्यो अवधारणाबारे उचित विमर्श नभएकाले नागरिक समाजबारे बुझाइ पनि समस्याग्रस्त छ । त्यसैले कहिले खास जातका मानिस एक ठाउँ आएर केही बोले भने त्यसैलाई नागरिक समाजका रूपमा व्याख्या गरिन्छ । कहिले भने कुनै खास दलको प्रभाव विस्तार हेतु सञ्चालित केही चलनचल्तीका नाम औँल्याएर नागरिक अगुवा भन्ने चलन छ । हलुका रूपमा प्रयोग गरिने जनता र नागरिक शब्दको गहिरो विमर्श नहुँदा, आमबुझाइमा भ्रम स्थापित हुँदा शक्तिशालीहरूले यस्ता अवधारणालाई आफ्नो हितमा उपयोग गर्छन् । यहीमार्फत सत्ताको दोहन त गर्छन् नै, सत्ताइतरका स्वतन्त्र मञ्चहरूमा समेत आफ्नै कब्जा जमाउँछन् । त्यसैले केही आधारभूत प्रश्नहरू सोध्न अत्यन्त जरुरी छ : को हो जनता ? के हो नागरिक समाज ?

प्रकाशित: जेष्ठ २३, २०७४

नेपाल साप्ताहिकमा प्रकाशित

चुनाव चिन्ता

उज्ज्वल प्रसाईं

स्थानीय तहको निर्वाचन सुरु भयो । पहिलो चरण सम्पन्न हुँदै गर्दा दोस्रो चरण र त्यसपछिका अरू चुनावसम्बन्धी छलफल सुरु भएका छन् । तर, छलफलमा चाहिएजति गम्भीरता र संवेदनशीलता छैन । जम्मा ३४ जिल्लामा भएको स्थानीय तहको निर्वाचनमा चार जनाको ज्यान जानु गम्भीर घटना हो, बेवास्ता गरिनुपर्ने होइन । जुन ढंगले हिंसात्मक गतिविधि भए र चुनाव जसरी धनाढ्य र नवधनाढ्यहरूको खेल मैदान बन्यो, त्यो चिन्ताजनक थियो । यसरी नै चुनावहरू अमर्यादित र हिंसात्मक बन्दै जाने हो भने यस्तो प्रक्रियाबाट आउने परिणामलाई जनादेश भन्न हिचकिचाउनुपर्ने हुन्छ । लोकतन्त्रको मेरुदण्ड मानिएको सिंगो प्रक्रिया नै धनकुबेर र बाहुबलीहरूको कब्जामा रहने हो भने चुनावप्रति सामान्य नागरिकको भरोसा पनि हराउँछ ।

राजनीतिक प्रक्रियाको वैचारिक, सैद्धान्तिक, र व्यावहारिक विमर्श कसैको प्राथमिकता नहुनु उदेकलाग्दो छ । पर्याप्त छलफल र व्यापक बनाइनुपर्ने विमर्शप्रतिको बेवास्ताले अनिष्टको संकेत गरेको छ । राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजमा यस्ता विमर्शहरूप्रति छाएको उदासीनता महँगो साबित हुन सक्छ ।

पुरानाको स्खलन 

नेपालका राजनीतिक दलमा विचार र सिद्धान्त महत्त्वको विषय रहेन । वैचारिक सवालमा चिन्तन गर्ने केन्द्रीय तहका नेतादेखि सामान्य कार्यकर्ता सबै किनारामा धकेलिएका छन् । हिजो विचार र सिद्धान्तको सुझबुझले नै भिन्न छवि बनाएका झरझराउँदा नेता धेरैजसो आफ्ना पार्टी अध्यक्षका लफ्फाजीको रक्षार्थ खटिएका अबुझ सिपाहीजस्ता देखिन थालेका छन् । जो यसो गर्नबाट आफूलाई जोगाएर हिँड्न खोज्दै छन्, दलभित्र उनीहरूको सान्दर्भिकतामाथि नै प्रश्न उठाउन थालिएको छ । पार्टीइतर समूहसँग उनीहरूको खासै घनीभूत अन्तक्र्रिया हुँदैन । त्यसो गर्न नचाहने एकथरीमा शुद्धतावादप्रतिको अबोधगम्य लगाव छ । तीमध्ये केही भने आफूले भन्दा बढी जानेका अरू मानिस होलान् भनेर कल्पना गर्न सक्दैनन् । आफूभन्दा कम विद्वान्सँग संगत गर्न जरुरी छैन भन्ने उनीहरूमा गहिरो भ्रम र त्यसैबाट नि:सृत जड घमण्ड पनि छ । केहीले प्रयत्न नगरेका होइनन् तर त्यस्तो अन्तक्र्रिया र निरन्तर विमर्शले पार्टीभित्र उनीहरूको अवस्था अझ कमजोर बनाउने भय उत्पन्न भएको छ ।

खास दार्शनिक र वैचारिक जगमा खडा भएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा विचारलाई रूढ र सतही बन्न नदिन यसलाई अद्यावधिक गर्ने कुनै छाँटकाट छैन । महाधिवेशन नामको खर्चिलो कर्मकाण्डको खासै ठूलो वैचारिक अर्थ छैन । किनभने, दलको वैचारिक धरातल, त्यस अनुसारको नीति, कार्यक्रम, त्यसै अनुसारको संगठन र तिनै आधारभूत विचारबाट निर्देशित व्यवहारका विषयमा खासै छलफल हुँदैन । छलफल वा प्रशिक्षणका नाममा जे हुन्छन्, ती औपचारिक कर्मकाण्ड पूरा गर्न मात्रै गरिन्छन् । त्यस्ता क्रियाकलापबाट वैचारिक चिन्तन गर्न सक्ने र नेतृत्वलाई उचित समयमा उचित प्रश्न गर्न सक्ने कार्यकर्ताहरूको जन्म हुँदैन । त्यसैले बौद्धिक भनिएकाहरूसमेत पार्टी मालिकका सिपाहीमा दर्ज भएका हुन् ।

खास गरी कम्युनिस्ट भनेर दाबी गरिएका राजनीतिक दलमा पुराना र निष्ठावान् भनिएका नेता–कार्यकर्ता प्राय: सिद्धान्तको रूढतालाई सर्वोपरि ठानेर बसेका छन् । उनीहरूमा नेतृत्वप्रति क्षोभ छ, नेता बिग्रेकामा चिन्ता छ । तर, न उनीहरूले बदलिँदो समय अनुरूप आफूलाई अद्यावधिक गरेका छन्, न नेतृत्वलाई प्रश्न गर्ने क्षमताको विकास नै गरेका छन् । बरू, नेताको श्रीवृद्धि देखेर भित्रभित्रै लोभ र आरिस बढाएर बसेका छन् । नयाँ भर्ना भएका जति छन्, तिनमा भुइँफुट्टाहरूको बाहुल्य छ । कार्ल माक्र्स र समाजवादजस्ता शब्द उच्चारण गरिरहनुपर्ने एकथरी भुइँफुट्टा छन् भने अर्काथरी दलाली गरेर खान पल्केकाहरू छन् । बिलकुल व्यक्तिगत स्वार्थ पूर्ति गर्ने मनसुवाले शक्तिको नजिक रहन आइपुगेकाहरू नै धेरैजसो दलका नयाँ कार्यकर्ताका रूपमा भर्ती भएका छन् । ती वैचारिकीले खारिन नपाएकामध्येको उल्लेखनीय संख्या भने आपराधिक मनोवृत्तिका हुल्लडबाजहरू हुन् ।

नेपाली कांग्रेसलाई मूलत: ‘मास–बेस्ड’ पार्टी भनिन्छ । यो कम्युनिस्टहरू जस्तो ‘क्याडर’ बनाएर हाइकमान्डबाट आदेश जारी गर्ने पार्टी होइन । तर, व्यवहारमा यो कुनै कम्युनिस्ट पार्टीभन्दा कम केन्द्रीकृत छैन । पार्टीको केन्द्रीय सत्ता मुठ्ठीभर मान्छेको हातमा छ । त्यही शक्ति र सत्ताको दोहन गर्न देशभरि कार्यकर्ताहरूको झुन्ड बनाइएको छ । माथिदेखि तलसम्मका समितिहरू सबै ‘पेट्रोन–क्लाइन्ट’ सम्बन्धको जालो विस्तार गर्ने एजेन्सीहरू नै हुन् । यहाँ प्राधिकार र जनवादी केन्द्रीयताजस्ता शब्द वर्जित छन् तर व्यवहारमा स्थानीय तहको उम्मेदवार छान्नेदेखि गाउँ तहका नेता बनाउने काम सबै हाइकमान्डबाटै हुन्छ । विचार, सिद्धान्तका नाममा बीपी कोइरालाको नामको मौसमी जपनाबाहेक अरू केही गर्दैनन् । समय–समयमा बौद्धिक नेता प्रदीप गिरीको भाषण सुन्ने धैर्य देखाए भने त्यही नै महान् वैचारिक कर्म मानिन्छ । त्यसैले कांग्रेस पनि कुकृत्यमा लिप्त अनेक गिरोहहरूको महासंघजस्तो मात्र बनेको छ ।

कम्युनिस्ट नामधारी पार्टी र उदार लोकतान्त्रिक भनिएको कांग्रेसको यस्तो स्खलनको परिणाम मूल्यको विद्रुप क्षयीकरण हो । चुनावजस्ता लोकतान्त्रिक प्रक्रियाले दिन–प्रतिदिन आफ्नो पवित्रता र मूल्य गुमाउनुको कारण पनि त्यही हो ।

नयाँहरूको धरातल 

मुख्य ठूला दलको वैचारिक स्खलनका कारण नयाँ राजनीतिक दलहरूको जन्म भएको हो । तर, नयाँ राजनीतिक दल गठन भइरहेका बेला गरिएका विमर्शहरूमा पार्टीको बलियो वैचारिक जग बनाउने सवाल प्राथमिकतामा परेन । बरू, विचार र सिद्धान्त हलुका टिप्पणीका विषय बने । धेरैजसोले यी सबै केही पनि चाहिँदैनन् भन्ने अर्थहीन फूर्तिलाई नै आफ्नो पहिलो राजनीतिक ‘स्टन्ट’ बनाए । तिनले ठूलो स्वरमा हामी कुनै ‘वाद’का कैदी होइनौँ भनेर गरेको हल्लामा सामाजिक संरचना र आर्थिक व्यवस्था बदल्ने आदर्शप्रतिको अविश्वास झल्किन्थ्यो ।

पुराना राजनीतिक पार्टीहरूले अनेकन् ‘वाद’का ठूला गफ गरे तर काम गरेनन् भन्ने उनीहरूले तर्क गरे । साथै, मौजुद नेतृत्वमा कुनै ‘भिजन’ नभएको उनीहरूले दोष लगाए । तर, पुरानाप्रतिको त्यो अविश्वास, राजनीतिक दर्शनप्रतिको त्यो उदासीनता र दूरदर्शीता नभएको आरोप आफैँमा भने गहिरो सुझबुझसाथ आएको थिएन । त्यसमा नयाँ गर्ने अभिलाषा त थियो र त्यसलाई भर दिने कुनै बौद्धिक जग थिएन । कतिपयको नियत सफा नै होला तर राजनीतिको मियो सफा नियत होइन, वैचारिक प्रतिबद्धता हो ।

वैश्विक परिस्थितिको उचित मूल्यांकन, नेपाली समाज बदलिँदै हिँडेको बाटोको सही विश्लेषण, सामाजिक संरचना र आर्थिक व्यवस्थाका दोषहरूको ठहर, यी सबै चिन्तनका विषयप्रति उनीहरूको खासै रुचि देखिँदैन । नेपाली समाजलाई ध्रुवीकृत गरिरहेका मुद्दाहरूमा उनीहरूको स्पष्ट अडान पनि गोचर हुँदैन । पुराना राजनीतिक दलले अहिलेसम्म नेपाली समाज बदल्ने उपक्रममा जे जति योगदान गरे, ती सबैमा वैचारिक र सैद्धान्तिक अध्ययन र विमर्शको योगदान छ भन्ने उनीहरूले हेक्का राख्न चाहेनन् । संसारभर चलेका सामाजिक र राजनीतिक आन्दोलनबाट ती दलका नेतृत्वले शिक्षा र नैतिक बल प्राप्त गरेका थिए भन्ने उनीहरूले बुझेको देखिँदैन । विचार र सिद्धान्तको महत्त्वलाई नजरअन्दाज गर्दा उनीहरूले बीपी कोइराला, पुष्पलाल, सीके प्रसाई र मदन भण्डारीहरूको अवमूल्यन र असम्मान भइरहेको ख्याल गरेनन् । बरू पुराना दलका नेताले नै वैचारिक धरातल गुमाएर लगाएको नवउदारवादी विकासे रटानको सिकार बने । आखिर उनीहरू पनि पुरानाले सिर्जना गरेको पासोका नयाँ कैदी बने ।

पुराना भनिएका दलहरूको स्खलित विचारका कारण भएको होइन, विचारहीनताका कारण भएको हो । कार्ल माक्र्स वा बीपीका कारण उनीहरू भुत्ते भएका होइनन् । विचारले भुइँफुट्टापन सिर्जना गर्दैन, बरू आलोचनात्मक संस्कारको माग गर्छ । विचार वा सिद्धान्त भन्नासाथ यी नयाँ उदाउन खोजेका सहरिया नेताहरूलाई कि राजनीतिक ‘ जार्गन’ सम्झना हुन्छ, कि आउँछ स्टालिनको सम्झना । विचार न जार्गन हो, न स्टालिनको तर्साउने प्रतिच्छाया । विचारहीन हुँदै यान्त्रिक र हिंस्रक बन्न थालेपछि स्टालिनको पतन भएको हो । लेनिनवाद वा माओवादको नक्कलमा समस्या हुन सक्छ तर यी राजनीतिक दर्शन आफैँमा नेपाली राजनीतिक पार्टीहरूको अहिलेको दुरावस्थाका दोषी होइनन् ।

सैद्धान्तिक विमर्श नभई समाज र जीवनलाई बुझ्ने र तिनको प्रगतिका लागि काम गर्ने कुनै गोरेटो फेला पर्दैन । बतासे कल्पना, सतही भाषणबाजी, आफू अनुकूल निर्माण गरिएका तथ्यका फेहरिस्त र बजारु विज्ञापनको आडमा केही दिनको राम–रमाइलो हुन्छ, यथास्थिति बदल्न सकिँदैन । बदल्ने उत्साह र अठोटबिनाको राजनीतिको उपादेयता त हुँदैन नै, त्यो आफैँमा प्रतिगमनतर्फको यात्रा पनि हुन्छ ।

नत्र, ढोंग मात्र 

चुनावबाट सुरु भएको यो चर्चा, नयाँ दलहरूको कमजोर वैचारिक धरातलमा पुग्यो । कारण, चुनावजस्तो लोकतान्त्रिक प्रक्रियाको मूल्य र पवित्रता जोगाउने काम नगर्ने हो भने नयाँले नयाँ हुनुको महत्त्व गुमाउँछन् । तर, त्यसो गर्नका लागि वैचारिक र सैद्धान्तिक जग बलियो बनाउन जरुरी छ ।

यद्यपि, यो चुनावको मात्रै सवाल होइन । वर्तमान दुनियाँले भोगिरहेका अनेकन् संकट र हाम्रा अघिल्तिर भएका सयौँ चुनौतीको सामना गर्न त्यस्तो वैचारिक रुझान आवश्यक छ भन्न खोजिएको हो । समाज, पर्यावरण र मानवीय जीवनको रक्षा र प्रगति गर्ने वैचारिक अठोटबिना ‘म अरूभन्दा राम्रो र सफा छु’ भन्ने प्रचार केवल ढोंग साबित हुन्छ ।

प्रकाशित: जेष्ठ ९, २०७४

नेपाल साप्ताहिकमा प्रकाशित

चरिकोटको सन्देश

उज्ज्वल प्रसाईं

चरिकोट विस्तार हुँदै गरेको बजार हो । दोलखा जिल्लाको सदरमुकामका रूपमा चिनिएको भीमेश्वर नगरपालिकामा पर्ने यो बजार केन्द्रको प्रतिनिधि पनि हो । त्यसैले वरपरका डाँडाकाँडाभन्दा यो सहर बढी चलायमान देखिन्छ । पहाडी सहरका अनेक सीमितताहरूबीच विकासका नाममा बनाइएका कंक्रिटका संरचनाहरू बढ्दै छन् । नमिलेका डाँडा डोजर लगाएर सम्याउने र घर ठड्याउने क्रम द्रुत छ ।

हरेक नयाँ बनिने घरमा सटर लगाएका पसल खोल्न मिल्ने कोठा निकालिएका छन् । देशका थुप्रै ठूला बैंकका शाखा यहाँ पनि देखिन्छन्, मनि ट्रान्सफरका काउन्टर नहुने कुरै भएन । पछिल्ला केही वर्ष मोटर ह्वात्तै बढेका छन् । साँघुरा बाटामा स्कोर्पियो र बोलेरो, एभेन्जर र पल्सर ठूलो हल्ला–बोलका साथ हुँकिइएका देखिन्छन् । भूकम्पका केही घाउ पुरिएका छन्, धेरै चोट आलै होलान् । तर, सहरले ती चोटलाई सतहमा देखाएको छैन । यसैबीच स्थानीय तहको निर्वाचनले मौसमी रौनक थपेको छ ।

लाउडस्पिकर जडित गाडीहरू चुनावी गीत घन्काउँदै दौडन थालेका छन् । झन्डाले सिँगारेका प्रत्येक गाडीमा प्राय: २० देखि २५ वर्षका युवा हल्ला गर्दै हिँडेका देखिन्छन् । ती सबैले चुनाव चिह्न र उम्मेदवारको फोटो छापिएको सेतो टि–सर्ट लगाएका छन् । सहरका चोक चोकमा हात जोडेर भोट माग्दै गरेका उम्मेदवारका चित्र अंकित फ्लेक्स ब्यानरहरू झुन्डिएका छन् । यहाँ गुड्ने प्राय: सबै मोटरबाइकमा कुनै न कुनै पार्टीको झन्डा उनिएको छ । एक व्यापारीले सुनाए अनुसार चरिकोटमा भएका सबै साना गाडी पार्टीहरूले भाडामा लिइसकेका छन् । बाइक भएका बेरोजगार युवाले राम्रै काम पाएका छन् । काठमाडाैँमा हठात् गराइएका केही राजनीतिक हथकन्डाले आसन्न स्थानीय तहको चुनावप्रति बढाएको सन्देहलाई यो रौनकले केही घटाउँछ । यद्यपि, चुनाव प्रचारमा हिँडिरहेका कार्यकर्तामा मनोनयन दाखिला गर्ने दिनसम्म अन्योल कायम छ ।

जिल्ला अदालतमा खडा गरिएको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता सुरु हुँदा सहरमा चारैतिर पञ्चेबाजा गुन्जिन थाल्छ । नेपाली कांग्रेसका अढाइ सयजति कार्यकर्ता जन्तीजस्ता लाग्छन्, तिनका अघिअघि हिँड्ने मेयरका उम्मेदवार बेहुलोजस्तो भएका छन् । एकैछिनपछि नेकपा एमालेले उस्तै तामझामसाथ करिब तीन सय जन्ती निकाल्छ । दुई पार्टीले साँघुरा बाटामा कब्जा जमाउन खोज्दा केहीबेर घम्साघम्सी चल्छ । प्रहरीले हस्तक्षेप गरेर दुई जन्ती टोलीलाई छुट्याउँछ । एमाले आयोगको कार्यालयतिर अघि बढ्छ, कांग्रेस केहीबेर बजार परिक्रमा गर्ने मुडमा देखिन्छ ।

केही बेरमा गाई छाप लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हुल निस्किन्छ । त्यसपछि सबैभन्दा सानो झुन्ड लिएर माओवादी केन्द्रका नेता–कार्यकर्ता आयोगमा आउँछन् । नेपाली कांग्रेससँग मिलेर चुनाव लड्ने योजना बन्ने र तुहिने गरिरहेकाले माओवादी केन्द्रको तामझाम फिका देखिएको हुन सक्छ । दिन ढल्दै गएपछि सबै पार्टीका युवा कार्यकर्ता भोलिको कार्यक्रमका लागि बाइक, गाडीको इन्धन र खाजा खर्च जुटाएसँगै ‘साँझे रमझम’मा व्यस्त हुन्छन् । निर्वाचनलाई त्यसै पर्व भनिएको होइन । यस्तो तामझाम अबको केही दिन यो सहरको दैनिकी बन्छ । निर्वाचन खर्च कति गर्लान् यसपटक पार्टी र उम्मेदवारहरूले ? खर्चका स्रोत के–के होलान् ?

राजनीतिक दलका चुनावी रामरमाइलो चल्दै गर्दा चरिकोट बजारमा नगर प्रमुखका एक आकांक्षी भेटिए । मेयर पदका लागि बलिया दाबेदार भए पनि उनले टिकट पाएनन् । चुनावबारे छलफल गर्ने क्रममा उनलाई निर्वाचन खर्चबारे प्रश्न सोधियो । उनका भनाइमा, मेयर पदमा चुनाव लड्न उम्मेदवार आफैँले २० लाख रुपियाँजति जोहो गर्नैपर्छ । बाँकी पार्टी, शुभचिन्तक र आफन्तहरूबाट सहयोग जुटाउनुपर्छ । एउटा उम्मेदवारले ३० देखि ५० लाख रुपियाँ खर्च गर्ने अनुमान छ । तिनको अनुमानकै आधारमा भन्ने हो भने गाउँपालिकाको अध्यक्षका उम्मेदवारले २५ लाखभन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ । वडाध्यक्षमा उठ्नेहरूको खर्च केही कम होला तर साह्रै सस्तोमा लड्न पाइन्छ जस्तो देखिएन । एक टेलिभिजन पत्रकार सुनाउँछन्, ‘दोस्रो संविधानसभा चुनावमा डेढ करोड खर्च भएको हाम्रा जिल्लाका उम्मेदवारहरू गर्वसाथ सुनाउँछन् ।’ चरिकोटभन्दा ठूला सहरमा यसभन्दा धेरै ठूलो आयतनमा खर्च हुने सहजै अनुमान गर्न सकिन्छ ।

चरिकोट बजारको मुख्य भाग सातदोबाटोबाट अघि बढेको एउटा पार्टीको जन्ती पशुपति डाँडाबाट ओह्रालो लाग्दा, केही कार्यकर्ताहरू गफिन आइपुग्छन् । नगरस्तरको समितिमा जिम्मेवारी पाएका वयस्क कार्यकर्ता आफ्नो नेताको चुनावी खर्चबारे भन्छन्, ‘ अहिलेसम्म त बूढाले आफ्नै गोजीबाट जुटाएका छन् । जग्गा–जमिन छ, बेचेर भए पनि जुटाउलान् । नत्र त जितिँदैन ।’ उनको आशय प्रतिस्पर्धी पार्टीको उम्मेदवार ठूलो आर्थिक स्रोत जुटाउन सक्ने सामथ्र्य भएका मानिस हुन् भन्ने हो । उनका अनुसार प्रतिस्पर्धी पार्टीको जिल्लाका स्रोत–साधनमा राम्रो पहुँच भएको र उनीहरूसँग नवधनाढ्यहरूको ठूलो संख्या भएकाले पनि धेरै खर्च गर्न सक्छन् । त्यही अनुपातमा खर्च जुटाउन नसक्दा प्रतिस्पर्धामा आफ्नो उम्मेदवार खरो उत्रन नसक्ने उनको विश्लेषण छ ।

प्रतिस्पर्धा आर्थिक स्रोतमा बढी केन्द्रित छ । अर्थात्, यहाँका उम्मेदवारहरूले स्थानीय मुद्दालाई सम्बोधन गर्ने विषयमा गरेका प्रतिबद्धता र तिनलाई पूरा गर्न देखाएको निष्ठा र विश्वसनीयतामा कुनै प्रतिस्पर्धा छैन । त्यस्ता प्रतिबद्धता उभ्याउने वैचारिक जगका कुरा कतै नसुनिनु अनौठो भएन । अरू त अरू, स्थानीय मुद्दाहरू समेटेर कुनै घोषणापत्र बनाउने फुर्सद पनि पाएका छैनन् पार्टीहरूले । बरू, केन्द्रबाट पठाएका सूत्रबद्ध र विकासका उडन्ते गफले भरिएका घोषणापत्रलाई नगरपालिका चुनावको मुख्य एजेन्डा बनाएका छन् ।



के निर्वाचन पैसाको बलमा मात्रै जितिने हो ? चरिकोटमा भेट भएका बुद्धिजीवीहरू अबको राजनीति दर्शन, सिद्धान्त, विचार र निष्ठाको बलमा लडिँदैन भन्ने निष्कर्ष सुनाउँछन् । उनीहरूका लागि यो चिन्ताको विषय हुँदै हो तर यसको निदानमा कसैको चासो नहुनु अझ डरलाग्दो सत्य हो । दोलखाको हकमा उल्लेख्य गाउँपालिकाहरूमा ठेकापट्टा र गुन्डागर्दीबाट आर्जन गरेको सम्पत्तिका बलमा टिकट हत्याउनेहरूको बाहुल्य भएको उनीहरूको दाबी थियो । एक शिक्षित युवाका भनाइमा सानो उपभोक्ता समितिमा त भ्रष्टाचारको जालो हुन्छ भने स्थानीय तहको कुरा नगरौँ । मान्छेलाई उत्प्रेरित गर्ने त्यही स्रोतको व्यक्तिगत र पार्टीगत दोहन नै हो । त्यसउपर भर्खरै पुन:संरचना गरिएको स्थानीय तहका अधिकार र स्रोतको दायरा अत्यन्तै ठूलो छ । भ्रष्ट प्रतिनिधिका हातमा यति ठूलो अधिकार र स्रोत भएपछिको हालत सम्झँदा मात्र पनि डर लाग्छ । चरिकोटमा सुनिएको अर्का एक आकांक्षीको किस्साले ती युवाको विश्लेषणलाई सही साबित गर्छ ।

उल्लेख्य समय इमानदारीपूर्वक राजनीतिमा लगानी गरेका एक स्थानीय नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट परिवारका सदस्यले रोके । चुनाव खर्चिलो हुने भएकाले र सहज ढंगले चाहिएजति सहयोग नजुटे ऋणमा डुबिने भयले ती आकांक्षी पछि हटे । चुनावमा गरिने खर्चले छोराछोरीको पढाइ र घरका अन्य प्राथमिकता प्रभावित हुने परिवारले ठहर गर्‍यो । तर, परिवारको स्वीकृति पाएका भए पनि उनलाई पार्टीले टिकट दिनेमा सन्देह थियो । कारण, उनीसँग चुनाव लड्न चाहिने स्रोत जुटाउने क्षमताको अभाव थियो । यस्ता कतिपयलाई पैसा जोहो गर्न सक्दैन भन्ने नाममा पार्टीले जानीबुझी बेवास्ता गरेका कथा चरिकोटजस्ता धेरै सहरमा सुन्न पाइन्छ । गहिरो राजनीतिक सुझबुझ भएका र सामाजिक काममा लगानी गरेका, निष्ठावान् र सक्षम कार्यकर्तालाई धन कुबेरहरूले सम्पत्तिकै बलमा उछिनेर जनप्रतिनिधि बन्नु समाजका लागि सुखद हुँदैन ।

ठूलो जोडबल लगाएर, ठूला नेताका चाकरी गरेर र यतिका धेरै स्रोत जुटाएर मान्छेले चुनाव लड्छ भने उसको प्राथमिक ध्याउन्ना आफ्नो गोजी भर्नु नै हुन्छ भन्ने धेरैको ठहर छ । यो कुनै उम्मेदवारी नपाएका व्यक्तिको कुण्ठित र मनोगत धारणा होइन, बरू आमबुझाइ हो । त्यसैले निर्वाचनमा उम्मेदवारको टिकट बाँड्दा, उनीहरूको पैसा जोहो गर्न सक्ने सामथ्र्यलाई एउटा बलियो आधार बनाइएको बुझ्न कठिन छैन । पुख्र्यौली जायजेथा प्रशस्त भएका, अनेक गरेर बनेका नवधनाढ्यहरू, औसत नेपालीका भन्दा धेरै गुना बढी आय भएका वा सत्ता र स्रोतमा गतिलो पहुँच बनाएका बाहेक अरूले नगरपालिकाहरूमा मेयर बन्ने अवस्था कम छ । अर्थात्, चुनाव लड्नेहरूको मनोविज्ञान यही आमबुझाइले निर्माण गरेको छ । यसभन्दा फरक ‘मोटिभेसन’ हुन्थ्यो भने लोकतन्त्रको मेरुदण्ड मानिएको निर्वाचन पैसाको यति भयंकर खेलमा परिणत हुने थिएन । यस्तो मनोविज्ञानलाई सम्बोधन गर्दै भर्खरै नयाँ पार्टी घोषणा गरेका एक नेताले आफूले प्रशस्त सम्पत्ति जोडिसकेको र आफूमा सम्पत्तिको लोभ नभएको आशय सार्वजनिक गरेका थिए ।

आर्थिक सामथ्र्यका अघिल्तिर अरू सबै खाले क्षमता र इमानदारी काम नलाग्ने देखिनु नेपाली राजनीतिमा छाएको मूल्यहीनताको त्रासद चित्र हो । नयाँ भनिएको नेपालले यो चित्रमा आमूल परिवर्तन ल्याउन जरुरी थियो । तर, पुराना सबै रोगका साथमा नयाँ घाउका क्रोनिकको निरन्तरता नेपाली राजनीतिको भविष्य बन्ने देखिँदै छ । के निष्ठा र प्रतिबद्धता राजनीतिका मुख्य आधार हुन् भन्ने मान्यता पूर्णतया खण्डित भएकै हो ? चरिकोटको सन्देश सुखद छैन ।

प्रकाशित: वैशाख २६, २०७४

http://nepal.ekantipur.com/news/2017-05-09/20170509193755.html

नत्र दक्षिणपन्थीलाई मुनाफा

उज्ज्वल प्रसाईं

मधेसमा बिस्तारै गर्मी बढ्दै छ । यद्यपि, मध्यदिनमा हिँडडुल गर्न अप्ठ्यारो भइसकेको छैन । ठूला बजारहरू प्राय: गुलजार देखिन्छन् । दैनिकी उच्चाटलाग्दो छैन, खरिद–बिक्रीको क्रम राम्रैसँग चलेको छ । भारतसँग जोडिएका साना–ठूला सबै नाका चलायमान छन् । वैध–अवैध सबै धन्दा यथावत् चलिरहेका छन् । थिति बसेका दैनन्दिनका कर्म आफ्नो निश्चित गतिमा छन् । बेथितिमा चल्न अभ्यस्त जे छन्, तिनले पनि आफ्ना गति छोडेका छैनन् । यसैबीच स्थानीय तहको निर्वाचन हुने हल्ला छ । चुनावी रौनकको वितरण भने सबैतिर समान छैन ।

अनिश्चयको भयले गाँजेका बेला कुनै एक दिन प्रचण्ड सरकारले फ्याट्ट चुनावको घोषणा गरेको थियो । सर्वशक्तिमान कार्यकारीले गरेको घोषणाले केही तरंग ल्याउने निश्चित थियो । काठमाडौँमा चल्ने राजनीतिक विमर्शका केन्द्रमा चुनाव आउन थाल्यो । पछिल्ला दुई दशक स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि चुन्न नपाउनु ठूलो विडम्बना हो भन्ने आमबुझाइ छ । त्यसैले अहिले गरिने विकासबारे गफ होस् वा भूराजनीतिक चिन्तन, बहसको सुरु र अन्त्यमा निर्वाचन छ । तर, काठमाडौँले निर्माण गर्ने राजनीतिक कथ्यको प्रभाव झापाको काँकरभिट्टामा जति छ, पर्साको वीरगन्जमा त्यति छैन । बाराको सिमरासम्म थोरबहुत जति चुनावी रौनक पुगेको छ, त्यो उमंगले आधा घन्टाको यात्रा तय गरेर वीरगन्ज भित्रिन सकस मानिरहेको छ ।

कसको पर्व ?

लोकतन्त्रमा निर्वाचनलाई सुखद पर्व मानिन्छ । जतिसुकै समस्याग्रस्त भए पनि चुनावको मूल्यवेत्तालाई कसैले सोझै नकार्न सकेको छैन । सत्ता र स्रोतमा सहज पहुँच हुनेहरूको पक्षमा चुनावको परिणाम आउने गरेको सत्य भए पनि चुनावको उचित विकल्प कसैले सुझाएको छैन । चुनावको यो महत्ता सबैले स्वीकारे पनि भर्खरै घोषणा गरिएको निर्वाचन मधेसमा पर्व नबन्नु विडम्बना हो । यो कुनै हर्षोल्लास र व्यस्तताको कारण नबन्नु दु:खदायी छ । चुनावको तयारीमा लागेका प्रहरी, प्रशासक, कर्मचारी र मुख्य राजनीतिक दलका नेता–कार्यकर्तासमेत चुनाव हुन्छ भन्नेमा विश्वस्त छैनन् । मधेसी मोर्चाले अस्वीकार गरेको चुनाव मधेसी समुदायले स्वीकारेको भए, स्थिति अलग हुन सक्थ्यो । तर, अवस्था त्यस्तो छैन ।

वीरगन्जको ठाकुरराम क्याम्पसमा अन्तक्र्रिया आयोजना गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय नेतालाई उनका समर्थकले संविधान संशोधनबिना निर्वाचनमा जान नसकिने स्पष्ट बताए । गाउँमा पुगेका जिल्ला र केन्द्रका कांग्रेसी नेताहरूलाई पनि उनीहरूका कार्यकर्ताले त्यही सन्देश पठाएको कुरा जनकपुर र राजविराजमा सुनिन्छ । वडास्तरीय समितिमा बसेर काम गर्ने कार्यकर्ताहरू महासमिति वा केन्द्रको कुनै खबर नसुनेकाले पूरै अलमलमा छन् । आक्कलझुक्कल भेट भएका ठूला नेताले कार्यकर्तालाई चुनावको पक्षमा उभिन हौसला दिन सकेका छैनन् । मधेसी मोर्चाले अघि सारेका मागप्रति खासै समर्थन नजनाउने पहाडी मूलका नेतासमेत मोर्चासँगको कुनै किसिमको ‘सेटलमेन्ट’ नभई चुनाव हुनै नसक्ने जीकिर गर्छन् ।

नेकपा एमालेका सक्रिय नेता–कार्यकर्ता मधेसमा आफ् नो पकड कमजोर भएको स्वीकार्छन् । एमालेलाई समर्थन र सहयोग गर्ने व्यापारीसमेत खुलेर सहयोग गर्न अप्ठ्यारो मान्न थालेका छन् । झापाको मेची नगरपालिकामा जसरी स्थानीय नेताहरूले आफूलाई मेयर वा उपमेयरको आकांक्षी रहेको खुलेर प्रचार गरिरहेका छन्, वीरगन्जमा त्यसो गर्न कांग्रेस वा एमालेका स्थानीय नेताहरू सकस मानिरहेका छन् । प्रचारप्रसारको कुनै मेलोमेसो देखिँदैन । बरू निर्वाचन अस्वीकार गरेका मधेसी मोर्चासम्बद्ध पार्टीहरू भने कुनै दिन निर्वाचन भएमा आफ्नो स्थिति बलियो होस् भनेर पार्टी प्रवेश नामको केही कर्मकाण्ड गरिरहेका छन् । फाट्टफुट्ट हुने कर्मकाण्डले चुनावी उत्साहलाई प्रतिविम्बित गर्दैन ।

मधेसी सहरका ठूला व्यापारी र सामान्य व्यवसायी राजनीतिक निकास निस्केको हेर्न चाहन्छन् । मधेसी जनताले आन्दोलनको उपलब्धि प्राप्त गरेको सुन्न र महसुस गर्न सके, कुनै अराजक शक्तिले स्थिति बिथोल्न नसक्नेमा विश्वास गर्छन् । त्यसैले बुझे चुनाव पर्व हुन्छ, नबुझे त्यही पर्वले कहिल्यै नमेटिने घाउ लगाएर जान सक्छ ।

मधेसी मोर्चा र मधेस 

काठमाडौँमा मधेसी मोर्चालाई बखेडाको स्रोतका रूपमा चित्रण गरिन्छ । यहाँका सञ्चार माध्यमहरूले निर्माण गरेको कथ्यले भन्छ, ‘संविधान संशोधन खासै जरुरी छैन तर मोर्चालाई मिलाउन केही तलमाथि गरे पुग्छ, बाँकी जति छन्, ती सबै भावनात्मक गफ हुन् ।’ सरकारले अघि सारेको पछिल्लो संशोधन लत्याएपछि अर्को कथ्य स्थापित गरियो, ‘जति जे गरे पनि मोर्चाले निहुँ खोज्छ, उसलाई चुनाव जित्न सक्ने हिम्मत नभएकाले ऊ चुनाव बिथोल्ने रणनीतिमा छ । भारतले नभनेसम्म मोर्चाका नेताले अटेर गरिरहन्छन् ।’

सञ्चार माध्यमले सहजै प्रभाव पार्न सक्ने पहाडी जिल्लाहरू र मधेसका पहाडी बहुल क्षेत्रमा यो कथ्य स्थापित छ । त्यसैले मधेसी मोर्चाको प्रभाव कम भएका झापा वा मोरङका उत्तरी भेगमा चुनावी रस्साकसी स्थानीय अखबारका दैनिक खुराक बनेका छन् । राजविराज, कलैया, सिरहा बजार वा जनकपुर, यस्ता ठाउँका यथार्थ भने बेग्लै छन् । मधेसी मोर्चालाई गिज्याउन वा उनीहरूले गरेका तमाम कमजोरीका फेहरिस्त तयार पारेर उनीहरूको राजनीतिलाई असान्दर्भिक तुल्याउन जति सहज छ, सिंगो मधेसलाई विश्वासमा लिन त्यति नै कठिन छ । काठमाडौँको चुनावी रौनकले अबको एक सातासम्म मधेसलाई छुन सकेन भने स्थानीय तहको चुनाव नेपाली राजनीतिको पछिल्लो अर्थहीन चुट्किला बन्न पुग्छ । सर्वशक्तिमान् कार्यकारीको महत्त्वपूर्ण घोषणा बेमतलबको ठट्टा बन्नु सुखद हुँदैन । वास्तवमा यो अवस्थामा निर्वाचन गरेर समस्या समाधान हुँदैन, अनन्तसम्म निर्वाचन नहुँदा पनि समस्या उकुच पल्टिन्छ ।

काठमाडौँले दिनरात दर्जनौँ मधेसीले गुमाएको ज्यान बेकार हो भन्ने प्रमाणित गर्न खोजिरहेको छ । महिनौँको आन्दोलन अर्थहीन थियो भनिरहेको छ । कुनै राजनीतिक आधारभूमिबिना कसैले बहकाएकै भरमा आन्दोलनमा होमिएर ज्यान गुमाए, घाइते भए भनेर सिंगो मधेसी समुदायलाई मूर्ख साबित गर्न खोजिएको छ । आन्दोलनमा सहभागी व्यक्ति र समूहको ‘एजेन्सी’ अस्वीकार गर्न खोजिएको छ । मधेस भने आफूले गरेको संघर्ष बहकाउको परिणाम होइन भनिरहेको छ । त्यो संघर्षको राजनीतिक अर्थ स्थापित छ भन्ने उनीहरूको विश्वास छ । आफन्तले गुमाएका ज्यान र पाएका दु:खको हिसाबकिताब मुखाग्र छ उनीहरूलाई । निर्वाचनको घोषणाले कुनै उत्साह भर्न नसकेको मधेसी समुदाय संविधान संशोधनबाट खास राजनीतिक उपलब्धि भएको हेर्ने आकांक्षा बोकेर बसेको छ । मधेसी मोर्चा असल राजनीतिक शक्ति होइन भन्ने काठमाडौँले सधैँ दाबी गरिरहन सक्छ तर मधेसीको सपना र आकांक्षालाई भ्रम साबित गर्ने उपक्रम बुद्धिमत्ता हुन सक्दैन ।

ठूला पार्टी, साँघुरो चिन्तन 

एकसरो मधेस घुमेर विविध क्षेत्रका मानिसहरूसँग खुलेर गफ गर्दा त्यहाँको मुड सहजै बुझिन्छ । संविधान संशोधनमार्फत मुख्य मागहरूको सम्बोधन गरेसँगै कुनै पनि लोकतान्त्रिक शक्तिलाई चुनावमा नजाने छुट हुँदैन । तर, ठूला पार्टीको साँघुरो चिन्तनले यति सहज सन्देश स्वीकार्न सकेको छैन । नेपाली कांग्रेस शीर्ष तहका नेताको सत्ता र शक्तिको व्यक्तिगत मोहमा फसेको छ, समस्याको निकास भन्दा पहिले कुुुर्सीको न्यानो उनीहरूको लक्ष्य हो । एमाले राष्ट्रवादी मत पुँजीकृत गर्ने राजनीति नै सफल राजनीति हुने अदूरदर्शी निष्कर्षमा पुगेको छ । माओवादी आफ्ना एजेन्डाको चिहानमा राजनीतिक साख जोगाउने कमजोर राजनीतिक खेलमा व्यस्त छ । सत्ताको निरन्तरतामा त्यो साख कायम रहने उसको ठम्याइ हो ।

मधेसी मोर्चाको बदनामीले कसैलाई कुनै पनि लाभ हासिल हुँदैन । मोर्चाका नेता भारतको इसारामा नाच्छन् भन्दै आफू भारतको ‘गुड बुक’मा बस्न गरिने उपक्रमले पनि कसैलाई फाइदा पुर्‍याउँदैन । त्यसैले जतिसुकै अप्ठ्यारो माने पनि मोर्चाका मागलाई मधेसको मागका रूपमा बुझेर तिनको सम्बोधन गर्ने उचित कदम चाल्नु बुद्धिमत्ता हुनेछ । जबर्जस्ती अघि बढ्न खोज्दा अस्तव्यस्तताको खाडलमा फसिन्छ । यथास्थितिमा रमाउन खोज्दा थप निराशा बढ्नेछ । ख्याल रहोस्, पश्चगामी र दक्षिणपन्थी शक्तिले त्यही निराशालाई आफ्नो हितमा पुँजीकृत गर्न सक्छन् ।

प्रकाशित: वैशाख ११, २०७४

नेपाल साप्ताहिक प्रकाशित

कुनचाहिँ विकास ठीक ?

उज्ज्वल प्रसाईं

‘नेपालमा कहिल्यै विकास हुन सकेन ।’

यो गुनासो नयाँ होइन । घागडान साम्यवादी हुन् वा कटिबद्ध हिन्दुवादी, उदार लोकतन्त्रवादी हुन् वा कट्टर नवउदारवादी, सबैले सधैँ गरिरहने गुनासो यही हो । कोही काठमाडौँका ढलका दुर्गन्धले आहत भएर यस्तो गुनासो गर्छन्, कोही गाउँका मान्छे जागिर माग्न काठमाडौँका डेरामा ताँती लागेको देखेर । तर, जति गुनासो गरियो, सम्भवत: त्यसको तुलनामा ‘विकास’ भन्ने अवधारणालाई प्रश्न गर्ने र त्यससम्बन्धी खोज गर्ने काम न्यून भयो । ज्ञान उत्पादन गर्न नसक्ने र भएका मौलिक ज्ञानको संवद्र्घनमा कुनै कसरत नगर्ने थिति बस्यो । त्यसैले विकासको बिलकुल पश्चिमा रूपरेखाभित्र रहेर गरिएका कच्चा प्रयत्नहरूले उपलब्धि कम गर्‍यो, धूलो बढी उडायो ।
आफैँले आफ्नो समाजका लागि ज्ञान उत्पादन गर्न नसक्दा र आयात गरिएका नयाँ अवधारणालाई समाजमा उचित ढंगले ‘लोकेट’ गर्न नसक्दा परिणाम राम्रो नहुने रहेछ । रामचन्द्र गुहाले आफ्नो पुस्तक डेमोक्र्याट्स एन्ड डिसेन्टर्समा भारतमा दक्षिणपन्थी धारका बौद्धिकहरूको कमीका कारण दक्षिणपन्थी राजनीतिको आवरणमा ठगहरूको बिगबिगी भयो भन्ने गुनासो गरेका छन् । नेपालको हकमा भने विकासका नाममा भएका क्रियाकलाप हेर्दा, विकास कहिले शासकहरूको वर्चस्व कायम गर्ने आकर्षक कथ्य बन्यो भने कहिले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थाको प्रभाव जमाउने ‘डिस्कर्सिभ’ हतियारका रूपमा प्रयोग भयो । विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरूको सान्दर्भिकता बचाइराख्ने उपाय पनि यही विकासे गफ नै हो ।

भौतिक सुख–सुविधाका वस्तु र झिलिमिली सहरका चित्र सामान्य मानिसका मस्तिष्कमा कोरेर बनाइएको विकासको कथ्य अहिले शक्तिशाली छ । ठूला पक्की पुल र चिल्ला बाटालाई विकास भन्ने हो भने अहिलेको नेपालको सबैभन्दा विकसित जिल्ला सप्तरी हुनुपर्ने हो । कारण, कोसी ब्यारेज, त्यसमाथि यामानको पुल, सबैभन्दा पुरानो सिँचाइ नहर चन्द्रनहर, पूर्वपश्चिम राजमार्ग त्यहाँ बनेको दशकौँ भयो । तर, सबैभन्दा बढी संख्यामा गरिब नागरिक भएको जिल्ला पनि सप्तरी नै हो । त्यसैले विकासको एकांगी व्याख्या अहिलेको मुख्य समस्या हो भन्ने स्पष्ट देखिन्छ ।

नयाँ ढंगले राजनीति गर्ने भनेर सतहमा आएका राजनीतिक शक्तिहरूले आफ्नो मूल राजनीतिक विचारधारा नै त्यही चित्रलाई बनाएका छन् । पुराना राजनीतिक दलमा उदाएका नयाँ नेताहरूले प्रचार गरिरहेका अवधारणा पनि पुँजीवादी विकासको त्यही झिल्के तस्बिर नै हो । त्यसैले विकास नामको यो उपाख्यान अझै लामो समयसम्म प्रभावशाली रहन्छ भन्ने आकलन गर्न सकिन्छ । साथै, अहिलेका ठूला विकासे संस्थाहरू समेत पुरानै ढर्रामा चलिरहन सहज मान्छन् । पहिले भएका कामका गम्भीर समीक्षा गर्ने र बिलकुल फरक बाटो पहिल्याउन उनीहरू तयार नै छैनन् । सुविस्तासँग चलिरहेको अवस्था अर्थात् ‘कम्फोर्ट जोन’बाट बाहिर निस्केर त्यस्ता गैरसरकारी संस्थाले काम नै गर्न सक्दैनन् ।

अर्को सत्य के पनि हो भने ती ठूला विकासे संस्थामा पनि उही वर्चस्वशाली समूहका क्लिष्ट अंग्रेजी जान्नेहरू नै छन् । अर्थात्, विकासको आवरणमा एक वा अर्को रूपको ठगी अनवरत चलिरहेछ । साथै, विकासकै नाममा वर्चस्वशाली वर्ग र समुदायको राजनीतिक र सामाजिक प्रभाव कायम छ, रहनेछ ।

त्यसो भए अब गर्ने के त ? सबभन्दा पहिले विकासको साबिक अवधारणा र आमबुझाइमाथि प्रश्न उठाउने । जेलाई विकासे कामका सफलता मानिएको छ, के ती सफलता जीवन र वातावरण अनुकूल छन् भनेर परख्ने । साथै, हिजो निश्चित गरिएका लक्ष्य र प्राप्त उपलब्धिको तालमेलको अध्ययन गर्ने । यसो भन्दै गर्दा अर्को खाले सन्देह उब्जिन सक्छ । फेरि पनि कामको साटो गफ नै गर्ने ? ज्ञान उत्पादन गर्न थाल्नु भनेको अहिले भइरहेका गलत वा सही सबै खाले प्रयत्नलाई पूरै ठप्प बनाउनु होइन । बरू, हिजो भएका कामको समीक्षा गर्दै, ज्ञानका मौलिक परम्पराको खोजी गर्दै र दुनियाँमा भएका अभ्यासबारे अध्ययन गर्दै, विकासका वैकल्पिक अवधारणाबारे चिन्तन गर्न थाल्नु हो ।

यति गर्न थाल्दा सबै गलत काम सच्चिने होइनन् र विकासको बिलकुल नयाँ स्वर्गमा अवतरण हुने पनि होइन । बरू, यस्ता प्रयत्नले विकासलाई केवल आयातीत ‘जार्गन’हरूको साँघुरो फ्रेम र बिलकुल प्राविधिक जकडबन्दीबाट निकाल्न सहयोग पुर्‍याउँछ । विकासको प्राविधिक व्याख्याको राजनीतिक नियत उजागर गर्ने काममा सहयोग पुर्‍याउँछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले अघि सारेका संरचनागत समायोजनजस्ता अवधारणाबारे खोलिएका पोलहरूको हाम्रामा कति महत्त्व छ भनेर खोजी गर्छ । साथै, विकासको कुनै खास मोडल खोज्ने उपक्रमको अर्थहीनता पनि प्रस्ट्याउन काम लाग्छ । विकास कुनै निश्चित मोडलको कैदमा नबसेर बरू अग्र्यानिक प्रक्रियाका रूपमा नयाँ परस्थितिहरूको सामना गर्दै निरन्तर चलायमान रहने पो हो कि ? यस्ता सन्देहबाट खोजी सुरु गर्नलाई अध्ययन–अनुसन्धानको थालनी अहिलेको आवश्यकता हो ।

नेपालमा विकाससम्बन्धी अध्ययन–अध्यापन नभएका होइनन् । विकासे भनिएका संघ–संस्थाले आफैँले लगानी गरेर विकासका अनेक अवधारणा अघि सारेका छन् । एउटा अवधारणा काम नलाग्ने सिद्ध भएपछि अर्को रूपरेखा तयार पार्न पनि उत्तिकै लगानी हुने गरेको छ । यो उपक्रम चल्न थालेको पनि दशकौँ भइसकेको छ । त्यसो त हाल हाम्रा विश्वविद्यालयहरूमा ‘डेभलपमेन्ट स्टडिज’ नामका अनेक विकासे कोर्सका पढाइ पनि हुन्छ । तर, माथि उल्लेख गरिएका मुख्य चासोहरूको अध्ययन गर्न विश्वविद्यालयका कोर्स र विकासे संघ संस्थाका चिल्ला दस्तावेज कति काम लाग्ने छन् भनेर सोच्नुपर्ने बेला भइसकेको छ ।

गैससका जार्गन प्रयोग गरेर रिपोर्ट लेख्न सक्ने विद्वान्हरूको उत्पादन त ठूलो मात्रामा भएको छ । विकासे क्रियाकलापले थुप्रै विकासे नेता र कार्यकर्तालाई धनवान् बनाएको पनि सत्य हो । सामान्य पढेलेखेका केही मानिससमेत यस्ता क्रियाकलापबाट लाभान्वित भएका छन् । तर, विकास नभएको गुनासो सर्वत्र छ । नेपाली समाजका धेरैजसो मानिसले अहिलेसम्म त्यो विकासको उपयोग गरेर इज्जतिलो जिन्दगी जिउन पाएका छैनन् भने ज्ञान उत्पादनको प्रक्रियालाई स्वाभाविक र निरन्तर प्रक्रियाका रूपमा सुरु गर्न जरुरी छ ।

अहिले चलिरहेको विकासे ‘डिस्कोर्स’लाई चुनौती दिएर नयाँ खोज गर्ने ल्याकत भएका अध्येताहरूको उत्पादन भएको छैन । त्यस्ता केही मानिस छन् भने पनि उनीहरूले आफ्नो ढंगले काम गर्ने मौका पाएका छैनन् । गैससहरूमा निर्भर नहुँदासम्म, त्यस्ता अध्येताहरूले गरिखान सक्ने अवस्था नहुनु अहिलेको विडम्बना हो । यस्तो अवस्थामा यथास्थितिको विकासे गफलाई आलोचनात्मक विवेचना गर्ने र फरक बाटो पहिल्याउनलाई चाहिने ज्ञान उत्पादनको थलो के हुन सक्छ ? सम्भवत: विश्वविद्यालयहरू हुन सक्छन् । तर, अहिलेकै अवस्थाका विश्वविद्यालयहरूबाट यस्ता कामको कतिको अपेक्षा गर्न सकिन्छ र ?

विश्वविद्यालयका केही ‘म्याभरिक’हरूले आफ्नो व्यक्तिगत प्रयत्नमा गर्ने यस्ता कामले बहससम्म त सिर्जना गर्न सक्ला तर ठोस परिवर्तन सम्भव हुँदैन । हाम्रा विश्वविद्यालयहरूमा सम्भावना भएका थुप्रै मानिस छन् तर उनीहरूको प्रयत्नले खासै ठूलो बहससमेत सिर्जना गर्न सकेको छैन । त्यसैले विश्वविद्यालय र ज्ञान उत्पादन गर्ने अन्य संस्थामा त्यस्तो वातावरण सिर्जना गर्ने त फेरि उही राजनीतिले नै हो ।

राजनीति भने अहिले निराशाको सबभन्दा ठूलो स्रोत भएको छ । निराश नहुने हो भने राजनीतिक संस्कार बदल्ने चुनौती कसैले न कसैले सामना गर्नैपर्ने हुन्छ । राजनीतिक वृत्तमा देखिएका नयाँ दलहरूले यस्ता विषयमा प्रशस्त काम गर्न सक्ने ठाउँ छ । तर, यी राजनीतिक शक्ति बन्न खोजिरहेकाहरूमध्ये केहीमा खासै गहिरो राजनीतिक सुझबुझ नै छैन । राजनीतिक र सामाजिक जटिलता बुझ्न सक्नेले ‘विकास’ नामको अवधारणाको नियतमाथि प्रश्न गर्न सक्ने साहस देखाउन जरुरी छ । केही समयअघि एउटा नयाँ राजनीतिक शक्तिले सुझावका लागि बोलाएको एक छलफलमा त्यसका शुभचिन्तक एक विद्वान्ले भनेको एक प्रसंग यहाँ सान्दर्भिक हुन्छ । ती विद्वान्ले चिन्तित मुद्रामा भनेका थिए, ‘यो मुलुकमा दुई नारा खुबै बिक्ने थिए : राष्ट्रवाद र विकास । यी दुवै नारा केपी ओलीले लगिदिए ।’

भोटको राजनीतिमा यो चिन्ता सही सुनिन सक्छ । तर, राजनीतिको मियो यति सतही विचारमा कति दिन टिक्न सक्छ ? टिक्यो नै भने पनि केही वर्षको न्यानो मात्रै हो । मानौँ, वर्षौं टिक्यो, त्यसो भयो भने सारा विनाशको कारक नै त्यही बन्छ । सफल हुनुको अर्थ उही पुँजीवादी झिल्के विकास नै हो, जसले स्रोतको अनन्त दोहन गर्छ, विभेद बढाउँछ, सीमान्तकृतहरूलाई झन् सीमान्तमा धकेल्छ र ठूला वातावरणीय विनाश निम्त्याउँछ ।

चुनावी जोड–घटाउको साँघुरो घेरामा राजनीतिलाई सीमित गर्नेहरूले यस्ता सवाललाई बेवास्ताको हाँसोले उडाइदिन सक्छन् । त्यसैले सतहमुन्तिरको राजनीतिक जटिलतासँग जोडिएको यो दुनियाँको भविष्य उधिन्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता हो । दुनियाँमा भएका वैकल्पिक डिस्कोर्सहरू सहायक बन्न सक्छन्, त्यसैले ती विमर्शहरूको अध्ययन गर्न थाले नयाँ उदाएका नेतृत्वले फरक ढंगले सोच्न सक्ने अपेक्षा गर्न सकिन्थ्यो । सन् १९९२ मा वल्फगांग सासले सम्पादन गरेको द डेभलप्मेन्ट डिक्सनरी : अ गाइड टू नलेज एज पावर र सन् २०१३ मा छापिएको गुस्ताभ इस्टेभाको द फ्युचर अफ डेभलप्मेन्ट : अ र्‍याडिकल मेनिफेस्टो पढेर सुरुआत गरे राम्रै हुन्छ ।

प्रकाशित: चैत्र ३०, २०७३

नेपाल साप्ताहिकमा प्रकाशित

अक्षम नेतृत्व र राजनीतिक घनचक्कर

उज्ज्वल प्रसाईं

नयाँ नेपालको परिकल्पनालाई मूर्त रूप दिन भनेर राज्य पुन:संरचनाको एजेन्डा अघि सारिएको थियो । राजनीतिक संस्कार बदल्ने सवाल भने नेतृत्वप्रति सामान्य नागरिकको भरोसा बढाउनका लागि जरुरी ठानिएको थियो । एक दशकको अभ्यासपछि न राज्यको पुन:सरचना पूर्ण भयो, न नेपाल नै अपेक्षाकृत नयाँ बन्यो । अहिले आएर राज्य पुन:संरचनासँग जोडिने एजेन्डाहरूको स्मरण गराउनु आफैँमा जोखिम मोल्नुसरह भएको छ । संस्कार बदल्ने सवाल कसैको प्राथमिकतामा छैन, बरू खुलेआम भ्रष्ट बन्दै गएकामा गर्व गर्न थालिएको छ ।

संविधान निर्माण हुँदै गर्दा होस् वा घोषणा गर्दा, सामाजिक न्यायप्रतिको सचेत लगाव, सामाजिक र सांस्कृतिक विविधताको सम्मान, समाजको संरचनागत जटिलतासम्बन्धी गहिरो सुझबुझ र भूराजनीतिक जटिलता सम्बोधन गर्न सक्ने कूटनीतिक कौशल नेतृत्वबाट अपेक्षित थियो । साथै, इतिहासको त्यो विन्दुमा आइपुग्न लगानी भएको त्यति लामो समय र नागरिकका खुन–पसिनाको हेक्का राखिने अपेक्षा पनि थियो । तर, यी कुनै पनि विषयमा नेतृत्व खरो उत्रन नसकेको र नागरिकप्रति गैरजिम्मेवार भएको दसी प्रमाण स्वयं संविधान नै हो । विश्वको उत्कृष्ट भनिएको संविधानले अहिले बेहोरेका बहुविध संकट त्यही असफलताको अभिव्यक्ति हो । सडकमा ढलिरहेका नागरिकका अमूल्य ज्यानले ठूलो स्वरमा व्यक्त गरिरहेको यो संकटलाई नजरअन्दाज गर्नु हाम्रो समयको सबभन्दा क्रूर ठट्टा हो । त्यसैले विद्यमान मुख्य राजनीतिक शक्तिका कमजोरी र तिनका आफ्नै ऊहापोहबारे छोटो समीक्षा गर्नु मनासिब होला ।

नेपाली कांग्रेस : स्मृतिमा तिकडम, विस्मृतिमा आदर्श 

नेपाली कांग्रेसको विद्यमान अवस्थालाई परबाट हेरेर यति भन्न हिचकिचाउनु पर्दैन–नेपालको सबैभन्दा भुलभुलैयामा फसेको दल नेपाली कांग्रेस हो । दस्तावेजमा समाजवादी आदर्शको फुर्को छुटेको छैन, व्यवहार र नीतिमा कचल्टिएको बजारवाद अटुट छ । दशकअघि नै मानवशास्त्री स्टेफन माइकसेलले कांग्रेसबारे राखेको मत अहिलेसम्म सान्दर्भिक हुनुले नै यो आधारभूत रूपमा यथास्थितिवादी पार्टी हो भन्ने झल्किन्छ– ‘नेपाली कांग्रेस भारतीय कांग्रेसले झैँ आफूले पनि समाजवाद अँगालेको स्वाङ रच्दै दिवंगत बीपी कोइरालाको तस्बिरको पूजा गरिरहेको छ । यद्यपि, हालका नेताहरूमा बीपीका विचारसम्बन्धी व्यावहारिक समझ भएको प्रमाण भने एकरत्ति झल्किँदैन ।’

पछिल्ला केही वर्ष चिन्तन र नेतृत्व कौशलका कसीमा सर्वथा कमजोर नेतृत्वको लगाममा रहन अभिशप्त कांग्रेस परिवर्तनका कुनै पनि एजेन्डाप्रति स्पष्ट हुन सकेन । असमझ, अस्पष्ट र बेलामा निर्णय लिन नसक्ने नेतृत्वका प्रभावमा पर्ने चल्तापुर्जा कार्यकर्ता झन् दिग्भ्रमित हुनु सामान्य हो । नेपालको सामाजिक संरचना विविधतायुक्त छ तर राज्यको बनावटमा भने एकैथरी रंग मात्रै गोचर हुन्छ । यति सग्लो चित्र सामुन्ने थियो, त्यसलाई नियाल्न कांग्रेसले कन्जुस्याइँ गर्‍यो । नेपाली समाजलाई विभाजित गर्ने सबैभन्दा ठूलो भूमिका मधेसले भोगेको अलगावले हो भन्ने सत्य बुझ्न आफ्नै नेता प्रदीप गिरीका आठ–दस फुटकर लेख मात्रै पढ्दा पनि काफी हुन्थ्यो । त्यति लेठो गर्ने जाँगर न कांग्रेसको नेतृत्वमा रह्यो, न सल्लाहकार हौँ भनेर दाबी गर्ने कांग्रेसी बुद्धिजीवीहरूले नै गरे । यही बौद्धिक अकर्मण्यता कांग्रेसको भुलभुलैयाको सबैभन्दा ठूलो कारक बन्यो ।

समाज र राजनीतिको बेमेललाई सम्बोधन गर्न उठाइएका समावेशिता र संघीयताजस्ता मुद्दा उदार लोकतान्त्रिक व्यवस्थालाई बढी न्यायपूर्ण बनाउन काम लाग्ने मुद्दा हुन् भन्ने गुह्य कांग्रेसले बुझ्न सकेन । बुझेको हो भने त्यसको मर्म अनुसार रत्तिभर काम नगर्नुमा कांग्रेसभित्रका एकथरी उच्च जातीय अहंकार बोकेका सामन्तहरूको भूमिका हुन सक्छ । उदार लोकतान्त्रिक पार्टी चलाउन चाहिने सामान्य उदारता नदेखाउनुले पनि कांग्रेसलाई सिद्धान्त, विचार–विमर्श र आदर्श प्राप्तितर्फको यात्राबाट विचलित गराएको हो । कांग्रेसमा उदार देखिन चाहने भर्खरै सतहमा देखापरेको एउटा गुट छ तर त्यो पनि आफँैमा वैचारिक बहुरूपी हो । एकातिर उदार मास्क लगाएर काम गर्ने, अर्कातिर एमालेको राष्ट्रवादी उन्मादको एउटा हिस्सा खोस्न खुट्टो उचालेर बसिरहने । त्यसैले अब कांग्रेसमा केवल कामचलाउ तिकडम गर्ने सामथ्र्य मात्रै बाँकी छ । सत्ता समीकरण फेरबदल गर्न त यतिले पुग्ला, समाजलाई प्रगति–उन्मुख गराउन यो सहायक हुँदैन ।

नेकपा एमाले : सवर्ण पहिचानवादी 

केपी ओली नेतृत्वको पार्टीलाई दस्तावेज वा घोषणापत्रको खासै महत्त्व हुँदैन । त्यसैले एमालेको पछिल्लो नवौँ महाधिवेशनले पारित गरेको दस्तावेजमा लेखेका बडेबडे लबजको अर्थ छैन । उसले निर्वाचनमा बाँडेको घोषणापत्रको अर्थ त्यति मात्रै छ, जति वरिष्ठ नेता माधव नेपालले रौतहटमा भोट माग्न एक दिन लगाएर हिँडेको धोती–कुर्ताको छ । एमालेले दस्तावेजमा सुरक्षित राखेको वर्ग–संघर्षको शान्तिपूर्ण राजनीतिको कथ्य व्यवहारमा कतै नदेखिनु सामान्य हो । एक–दुई नेता अहिले पनि दस्तावेजका सिद्धान्तबारे चिन्तित भएर सभा–सेमिनारमा जुटिरहनु एमालेको अनुहारमा दलिएको अतिरिक्त पाउडरजस्तो मात्रै लाग्छ ।

एमाले अहिले राष्ट्रवादको बजार संवद्र्धनमा व्यस्त छ । राष्ट्रवाद र विकासको सम्मिश्रणको कथ्यसँग भोटको विनिमय प्रचुर हुनेमा विश्वस्त उसलाई पछिल्लो मधेस आन्दोलनताका भारतले लगाइदिएको नाकाबन्दी बडो आकर्षक प्याकेट बनेको छ । यस पटक भने उसको प्रोपोगान्डाको बढ्दो आक्रामकता र त्यसलाई चिर्न मधेसी मोर्चाका नाममा भएको लापरबाहीपूर्ण प्रतिरोधले पाँच निर्दोष नागरिकको ज्यान लियो । सशस्त्र र नेपाल प्रहरीजस्ता संस्थाले अहिलेसम्म ‘अनलर्न’ गर्न नसकेको नश्लवादको दोष त छँदै छ ।

एमालेको राष्ट्रवादको प्राज्ञिक चिरफार जरुरी होला । धेरै दिमाग नखियाई देखिने तथ्य के हो भने यो आक्रामक ढंगले प्रचार गरिएको राष्ट्रवादी कथ्यमा वर्गीय होइन, नश्लीय चरित्र हाबी छ । अर्को शब्दमा भन्दा नेपालका मधेसी र जनजातिले जबर्जस्त प्रकट गरेका पहिचान र प्रतिनिधित्वको दाबीविरुद्ध एमालेले पहाडी मूलका सवर्ण जाति बाहुन–क्षत्रीको नश्लीय अहंकारलाई आफ्नो राजनीतिक हतियार बनाएको छ । भारत विरोध सहजै उपलब्ध बाहिरी आवरण हो । चीनसँगको सानिध्य र मधेस आन्दोलन दबाउने प्रतिक्रियात्मक राजनीतिको उपजस्वरूप चीनसँग गरिएका सम्झौता भने नश्लवादलाई ‘र्‍याप’ गर्ने चित्ताकर्षक सज्जा हुन् ।

एमालेको यो सवर्ण पहिचानवादी राजनीतिले राज्य पुन:संरचनाका सबै मुद्दालाई ‘डाइल्युट’ गर्न सघाएको छ । समाजको विविधता अनुसारको राज्यको पुन:गठन, पहिचान स्थापित हुन सक्ने र सीमान्तकृत समुदायले जनसांख्यिक लाभ लिन सक्ने गरिएको संघीयता– राष्ट्रवादको तापमा पग्लिन थालेका छन् । सतहमा यसलाई हिजोको माओवादी र मधेसवादीहरूको हार भनेर स्वीकार्न सकिएला । तर, समस्याको यो बीउले गर्ने उपद्रोको आकलन कति एमालेजनले गरेका छन्, थाहा छैन । त्यसउपर एमालेको सवर्ण पहिचानवादले पहाडी समुदायमा मधेसप्रति सन्देह बढाएको छ भने मधेसीहरूलाई थप ‘एलिएनेट’ गरेको छ ।

एकातिर मुख्य मुद्दाको चर्को भ्रष्टीकरण र अर्कातिर बलियो ‘पेट्रोन–क्लाइन्ट नेटवर्क’ (कृपादाता र कृपापात्रको सञ्जाल)लाई धान्न गरिने सत्ता र शक्तिको दोहन । एमाले यी दुई गुणले राजनीतिक दलका रूपमा अबका केही वर्षसम्म देशको एउटा ठूलो क्षेत्रमा बलियो होला । तर, समतामूलक र समृद्ध समाजको सपना भने अझै धुमिल हुनेछ ।

माओवादी : पतनको मूलधारमा व्यग्र छलाङ 

नेपाली माओवादले कहिल्यै एउटै पार्टीको छानो पाउन सकेन । स–साना प्रभावहीन झुन्डमा सीमित माओवाद इतिहासको एउटा कालखण्डमा नेपाली समाजको सामन्तवादी जग हल्लाउने शक्तिमा परिणत भएको भने सत्य हो । अहिले फेरि उही प्रभावहीन गफाडी झुन्डमा खण्डित भएर अवसान हुने बाटोमा छ, माओवाद । माओवादका नाममा जनताले गरेको ठूलो लगानीको ब्याज खानु नै आफ्नो जीवनको अन्तिम उद्देश्य बनाएको एउटा सानो तप्काले यही गतिमा केही समय गरिखाने सम्भावना भने छ ।

पहिलो संविधानसभा टिकाउन नसक्नु र त्यसैबाट संविधान जारी गर्न नसक्नु माओवादीको सबभन्दा ठूलो असफलता हो । दोस्रो संविधानसभामा पार्टीको हार भएपछि, जति मिहिनेत र परिश्रम गरेर संगठन चुस्त बनाउनेदेखि जनतासँग जोडिने गरीे काम गर्न जरुरी थियो, त्यसमा उनीहरू चुकेका हुन् । अहिले आएर माओवादी अलि ठूलो आकारको नेकपा मालेजस्तो हर्कत गर्ने पार्टी भएको छ । कहिले चीनको दबाबमा १६ बुँदे समझदारी गर्न सडक आन्दोलन असरल्ल छोडेर एमालेलाई काँध थाप्न जाने त कहिले भारतको दबाबमा सत्ता–समीकरण फेर्न उद्यत हुने । यही गोलचक्करमा जनता बिर्सने, हिजोका बलिदान र एजेन्डा सबै बिर्सने ।

आफ्ना सबै एजेन्डालाई जनजाति अधिकारको पक्षमा लड्ने समूह र मधेसवादी दलको काँधमा बिसाएर सत्ताको चास्नीमा डुब्न गएसँगै, माओवादी केन्द्रले आफ्नो इमानदारी गुमाइसकेको हो । थोरै केही साख अझै बाँकी थियो भने एनसेलको करछलीजस्ता प्रकरणमा मुछिनु उसको चरम स्खलन हो । वैचारिक रूपले खारिएका र इमानदार नेता–कार्यकर्ता नभएका होइनन् यो पार्टीमा । तर, मूलधारको राजनीतिमा आएपछि पतनलाई नै आफ्नो मूलधार बनाइसकेको नेतृत्वले ती निष्ठावान् नेता–कार्यकर्ताको विचारको भारी धेरै बोक्न सक्दैन ।

असंख्य टुक्रामा खण्डित, असरल्ल संगठन, विचारसँगको बढ्दो दूरी र किनारामा हुत्याइएका मुद्दा– वर्तमानको माओवादी केन्द्र यति नै हो । त्यसैले यो पार्टीको नेतृत्वमा उच्च राजनीतिक संस्कारको प्रादुर्भाव होला वा एजेन्डाको सही बैठान होला भनेर विश्वस्त हुन गाह्रो छ ।

मधेसी मोर्चा : बलियो एजेन्डा, कमजोर र परनिर्भर नेतृत्व

मधेसको पहिचान र प्रतिनिधित्वजस्ता एजेन्डासँग यो देशको लगभग आधा जनसंख्याको सरोकार छ । ऐतिहासिक रूपमा भोगेको अलगाव र असम्मानले जनतालाई वर्षौंदेखि आन्दोलित तुल्याएको पनि छ । त्यसैले यी मुद्दा बोक्ने र मुद्दाकै आधारमा राजनीति गर्ने दल र नेतृत्वलाई कुनै बाह्य शक्तिको उति ठूलो आडभरोसा जरुरी थिएन । सत्य के पनि हो भने राज्यको नश्लवादी चरित्र, त्यसलाई साथ दिने वर्चस्ववादी समुदायका माथिल्लो तप्का र पहिल्यै ‘कोअप्ट’ भइसकेका मधेसी सम्भ्रान्तसँग लड्न उति सजिलो पनि थिएन । त्यसैले, मधेसी नेतृत्व पंक्तिले आफ्नो जनाधारलाई राजनीतिक सामथ्र्यको सबभन्दा ठूलो स्रोत बनाउन सक्नुपथ्र्यो । सन् २००७ मा भएको मधेस आन्दोलनको नेतृत्व गर्ने जनअधिकार फोरमजस्तो पार्टी र मधेसी नेतृत्वलाई मुद्दामा अडिन र एकढिक्का बनाएर राख्न नसकेकै कारण मधेसको हार भएको हो । त्यसो गर्नुको साटो उनीहरूले भारतको आड लिने सजिलो बाटो रोजे ।

अहिले आएर लगभग १३ पार्टीमा विभक्त भएपछि भारतमाथिको उनीहरूको निर्भरता अझै बढेर गएको छ । यसरी मधेसवादी पार्टीलाई विभाजित गरेर उनीहरूलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने तिकडम भारतले बारम्बार गर्दै आएको सत्य कसैबाट छिपेको छैन । त्यसउपर, मधेसवादी भनिने दलबाट सरकारमा पटक–पटक पुगेका नेताको अक्षमताले पनि मधेसी जनताको सबल मुद्दालाई कमजोर बनाएको हो ।

अहिले सतहमा देखिएको मधेसी मोर्चा एउटा सकसपूर्ण गठबन्धनको नाम हो । बाहिर हेर्दा मुद्दा एउटै हो– संविधानमा मधेसको पहिचान स्थापित हुने गरी संघको सीमांकन गर्ने र राज्यका सबै अंगमा उचित प्रतिनिधित्व सुनिश्चित गर्ने । यो सुनिश्चितताका लागि यही मोर्चाको आह्वानमा लाखौँ जनता सडकमा आए, ज्यान आहुति दिए । राजनीतिक शक्तिका लागि यसभन्दा ठूलो तागत अरू केही हुँदैन । तर, केन्द्रीय राजनीतिको गोलचक्करमा आफ्नो व्यक्तिगत स्वार्थलाई प्रधानता दिएपछि, न उनीहरू अविभाजित रूपमा उभिन सकेका छन्, न उनीहरूले गरेको त्यति ठूलो आन्दोलनले सत्तालाई लतार्न सकेको छ ।

राज्य पुन:संरचनालाई पूर्णता दिँदै नेपाली राज्यलाई समावेशी बनाउने, सीमान्तीकृत समुदायलाई अधिकारसम्पन्न बनाउने र उनीहरूको पहिचान स्थापित गर्न सक्ने तागत अझै छ मधेस आन्दोलनसँग । नेपालका ठूला राजनीतिक शक्तिलाई यी सबै एजेन्डाप्रति जिम्मेवार बनाउन सक्ने सामथ्र्य पनि राख्छ मधेसले । तर, यी मुद्दालाई आफ्ना मुद्दा हुन् भनेर दाबी गर्ने नेतृत्वमा आफैँप्रतिको विश्वास र अविचलित निष्ठा जरुरी छ । के विद्यमान पार्टी र नेतृत्वले विगतका कमजोरीको समीक्षा र अघि बढ्ने स्पष्ट बाटो निक्र्योल गर्न सक्छन् ? विश्वस्त हुने ठाउँ छैन ।

अन्त्यमा, विद्यमान राजनीतिक शक्ति र नेतृत्वबाट धेरै आशा गर्न सकिँदैन । तर, निराशामा डुब्ने छुट पनि पाइँदैन । आफूले सकेको ठाउँबाट हस्तक्षेप जारी राखे कसो बाटो पहिल्याउन नसकिएला ? सबभन्दा पहिलो खुड्किलो सायद हिजो गरेका सबै कामको निर्मम समीक्षा नै हो ।

प्रकाशित: चैत्र १४, २०७३

नेपाल साप्ताहिकमा प्रकाशित